गत्लाङ ब्ल्याक भिलेज रंगिन गाउँमा परिणत


सरस्वती न्यौपाने, रसुवा ।

रसुवा जिल्लाको साविकको गत्लाङ गाविस हालको आमाछोदिङमो गाउँपालिका–३ गत्लाङ गाउँ ब्ल्याक भिलेज भनेर चिनिएको भए तापनि आजभोलि रंगिन गाउँमा परिणत भएको छ ।

गत्लाङ ब्ल्याक भिलेजका नामले चिनियो । कालोगाउँका सबै घर उस्तै हुन्थे, झ्याल ढोकाको डिजाइन उस्तै हुन्थ्यो, कसको घर कुन हो छुट्टयाउन मुस्किल यिथो । किनकि उस्तै घर हुन्थे । झ्याल ढोकाको बुट्टाहरू उस्तै चिटिक्क हुन्थ्यो । ढुंगाको गाह्रो, काठको छानो भएको दुई तले घरको भित्र पनि काठैकाठ हुन्थ्यो । काठै काठको घर भएकाले जति चिसो मौसममा पनि न्यानो हुन्थ्यो ।

‘हिमपातको समयमा पनि त्यहाँ सुत्न न्यानो हुन्थ्यो’, स्थानीय फुर्पुसिंगी तामाङ भननुहुन्छ – ‘भूकम्पपछि गत्लाङ गाउँको आफ्नो पहिचान हराएको छ । तर पनि पर्यटन व्यवसाय उठाउन हामी लागेका छौ ।’भूकम्पले सबैको घर भत्किए । विभिन्न संघ–संस्थाले राहतका रूपमा जस्तापाता बाँड्न थाले, पुरानो घर भत्किएकाले धेरैले जस्ताकै टहराहरू बनाउन थाले । त्यसैले कालोगाउँ अहिले रंगिचंगी भएको छ । धेरैले रंगाएर भने पनि गाउँलाई पहिलेकै जस्तो देखाउन खोजेका छन् । केहीले काठकै छाना लगाएका छन् ।

काठको छानामा हिउँ परे पनि न्यानो हुने तर जस्ताको छानाले धेरै चिसो हुने अनुभव स्थानीय सुनाउँछन् । जस्तापाताको छानामा आवाज आउने, हिउँ पर्ने समयमा धेरै समय हिउँ जमेर बस्ने हुँदा यो गत्लाङलाई उपयुक्त नभएको उनीहरू बताउँछन् । त्यसैले गर्दा झन् धेरै चिसो हुँदो रहेछ ।

गत्लाङगाउँ हिमालको नजिकै भएकाले यहाँ मंसिर महिनादेखि नै हिउँ पर्न शुरु हुन्छ । ‘अहिले त महामारी हो । तर, पर्यटक घट्नुको एउटा कारण कालोगाउँलाई जीवित राख्न नसक्नु पनि हो’, सार्की भन्नुहुन्छ– ‘वातावरण सहज भएपछि घुम्न आउनेहरु बढ्छन् । यहाँबाट बिहान उठ्ने बित्तिकै ओछ्यानबाटै लाङटाङ हिमाल टलक्क देख्न सकिन्छ ।’

विश्वव्यापीरूपमा कोरोना भाइरसको महामारीका कारण बन्दाबन्दी हुनाले २ वर्ष पर्यटन क्षेत्र नराम्रोसँग थला परेको छ । सन् २०२० लाई भ्रमण वर्ष र सन् २०२० देखि २०३० लाई पर्यटक दशकका रूपमा मनाउने र देशभर वार्षिक ५० लाख पर्यटक भित्र्याउने योजना थियो । तर, सरकारको त्यो अपेक्षा कोरोनाकै कारण पूरा हुन सकेन । रैथाने उत्पादनका विभिन्न ताजा परिकारका खानेकुरा, हिमाली दृश्य, मनोरम हावापानी, मौलिक कला, तामाङ तथा तिब्बेतीयन संस्कृति, भेषभूषा यहाँको मुख्य आकर्षण हो ।