युथ एथ्लेटिक्समा युवराज, सुदीप र स्वागता उत्कृष्ट


काठमाडौं । 

नेपालका सुदीप थारू, स्वागता खैजु र युवराज विक युथ एथलेटिक्स च्याम्पियनसिपको आ–आफ्नो उमेरसमूहमा सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।

यु–१६ को ब्वाइजमा सुदीप र गल्र्समा स्वागता तथा यु–२० को ब्वाइजमा युवराज र गल्र्समा सुमुया देवान सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन् । सुमुया बंगलादेशकी हुन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको यु–२० उमेरसमूहअन्तर्गत १ सय मिटर दौडको ब्वाइजमा जाजरकोटका युवराज (११.०० सेकेन्ड) र गल्र्समा बंगलादेशकी सुमुया (११.८५ सेकेन्ड) पहिलो भए ।

यस्तै ४ सय मिटर दौडको ब्वाइजमा बंगलादेशका जेल्डासर्जिल रसिम खान (५१.६ सेकेन्ड) र गल्र्समा बंगलादेशकै रुना नस्रत जाहान (१ मिनेट ४ सेकेन्ड), ८ सय मिटर दौडको ब्वाइजमा कञ्चनपुरका सन्जिव नेपाली (२० मिनेट ०३.९ सेकेन्ड) र गल्र्समा जुम्लाकी राममाया बुढा (२ मिनेट २६.३६ सेकेन्ड) पहिलो भए ।

एथलेटिक्स परिवार, नेपालद्वारा आयोजित प्रतियोगिताको यु–२० हाइजम्पको ब्वाइजमा मोरङका सागर यादव (१.६६ मिटर) र गल्र्समा विजेश्वरीकी मेलिना श्रेष्ठ, सटपुटको ब्वाइजमा चितवनका ललित राउत (१०.७० मिटर) र गल्र्समा दाङकी सुशिला चौधरी (९.६२ मिटर) ले स्वर्ण जिते ।

यु–१६ १ सय मिटर दौडको ब्वाइजमा वीरगञ्जका आदेशकुमार यादव (११.२४ सेकेन्ड) र गल्र्समा भक्तपुरकी स्वागता खैजु तथा ८ सय मिटर दौडको ब्वाइजमा बाग्लुङका बादल कार्की (२ मिनेट ०७.८४ सेकेन्ड) र गल्र्समा कालिकोटकी भावनाले शीर्ष स्थान हात पारे ।