दुर्व्यवहार गरेको अभियोगमा माओवादी अध्यक्ष पक्राउ


राम धामी, डडेल्धुरा ।

नेकपा (माओवादी केन्द्र) परशुराम नगर कमिटिका अध्यक्ष शेरसिंह माल ‘डाइमन्ड’ लाई प्रहरीले डडेल्धुरा सदरमुकामबाट मंगलबार पक्राउ गरेको छ । गत मंसिर १० गते नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित महिला वडा सदस्य राजमति ऐरलाई दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले उहाँलाई पक्राउ गरेको हो ।

डडेल्धुरा सदरमुकामबाट पक्राउ गरेर हिरासतमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो ।

परशुराम नगरपालिका–३ मा नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित वडा सदस्य र ऐरले आफ्नो घर शिर्षबाट लालढुंगा बजार हिँडेका बेला नगर अध्यक्ष डाइमन्डले दुर्व्यवहार गरेको भन्दै गत शुक्रबार जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा उजुरी दर्ता गराएको प्रहरीले जनाएको छ ।

आफ्नो दाँतको उपचार गर्न र भर्खरै नेपाली कांग्रेसका जिल्ला सभापतिमा चयन भएका परशुराम नगरपालिकाका नगप्रमुख भीमबहादुर साउदको सम्मान कार्यक्रममा सहभागी हुन जोगबुडा जाने क्रममा नगर अध्यक्ष डाइमन्डले दुर्व्यवहार गरेको वडा सदस्य ऐरको दाबी छ ।

नेकपा माओवादी केन्द्रका नगर कमिटी अध्यक्ष डायमन्डलाई वडा सदस्य ऐर नेपाली कांग्रेसमा प्रवेश हुन गइरहेको भन्ने गलत सूचना दिएकाले उहाँले आफूमाथि दुर्व्यवहार गरेको वडा सदस्य ऐरले बताउनुभयो । ‘म त दाँतको उपचार र सम्मान कार्यक्रममा जान लागेकी थिएँ’, राजमतिले भन्नुभयो– ‘तर, कसैले डायमन्डजीलाई गलत सूचना दिएछ । रंगुन खोलानिर म सवार मोटरसाइकल रोकेर ममाथि हातपात र दुर्व्यवहार गर्नुभएको हो ।’

वडा सदस्य राजमतिका अनुसार डायमन्डले जबरजस्ती मोटरसाइकलबाट उतारेर गालीगलौज गरेका थिए । ‘मेरो पाखुरा समातेर मोटरसाइकलबाट जबर्जस्ती उतार्नुभयो । मेरो स्विइटरको बटनसमेत टुट्यो । तँ माथि मेरो सबै लगानी लागेको छ, भनेर तथानाम गाली गर्नुभयो’, राजमतिले दुखेसो व्यक्त गर्दै भन्नुभयो– ‘म एकल महिला, मेरो कोही छैनन् भनेर त्यस्तो अन्याय गर्नुभएकाले न्यायका लागि प्रहरीमा उजुरी दिएकी हुँ ।’

दुर्व्यवहारपछि डायमन्डले परशुराबम–४ कटाल बजारमा रहेको आफ्नै पसलमा राखेको पीडित राजमति बताउनुहुन्छ । ‘शौचालय जान्छु भनेर पसलबाट भागेर घर आएँ’, उहाँ भन्नुहुन्छ– ‘म पार्टी प्रवेश गर्ने कुरा केही थिएन, तर राति पनि फोन गरेर महाकालीमा बगाइदिन्छु भनेर धम्काउनुभयो ।’

माओवादीको क्रियाशील सदस्यसमेत रहेकी राजमतिमाथि दुव्र्यवहार नगरेको नगर अध्यक्ष डाइमन्डले जिकिर गर्दै आउनुभएको छ । उहाँले सो दिन ऐरसँग आफ्नो भेटघाटसमेत नभएको दाबी गर्नुभयो । सत्य तथ्य कुरा प्रहरीको अनुसन्धानले पुष्टि गर्ने डायमन्ड बताउनुहुन्छ ।