रोहिंग्याद्वारा  फेसबुकसँग अर्बौँ डलर क्षतिपूर्ति माग 


लन्डन, (एजेन्सी) ।

बेलायत र अमेरिकामा रहेका दर्जनौं रोहिंग्या शरणार्थीले आफूहरूविरुद्ध घृणायुक्त भाषण फैलाउन अनुमति दिएको आरोप लगाउँदै सामाजक सञ्जाल फेसबुकविरुद्ध क्षतिपूर्तिको माग गरेका छन् । म्यान्मारका अल्पमत समूहमा परेका आफूहरूविरुद्ध हिंसा प्रवर्धनका लागि फेसबुकले मन्चको भूमिका निभाएको भन्दै तिनीहरूले १ सय ५० अर्ब अमेरिकी डलरभन्दा बढी क्षतिपूर्तिको माग गरिरहेका छन् ।

बौद्धमार्गी बाहुल्य रहेको म्यान्मारमा सन् २०१७ भएको सैनिक दमनमा करिब दश हजार जना रोहिंग्या मुस्लिम मारिएका थिए ।
अहिले नयाँ नाम ‘मेटा’ धारण गरेका फेसबुकले तिनीहरूका आरोपबारे तत्कालै कुनै पनि प्रतिक्रिया जनाएको छैन । फेसबुकमाथि वर्षौंदेखि घृणायुक्त र खतरनाक गलत सूचना निरन्तर रूपमा प्रसारण गरिरहेको आरोप लगाइएको छ ।

बेलायतका केही शरणार्थीको प्रतिनिधित्व गर्दै एउटा बेलायती ल फर्मले यस विषयमा फेसबुकलाई पत्र पठाएको बीबीसीले जनाएको छ । म्यान्मारको राजनीतिक अवस्थाबारे थाहा हुनेहरूबाट तथ्य सत्य परीक्षण गराउन विशेषज्ञहरूलाई लगानी गर्न फेसबुक असफल भएको बताइएको छ ।

विभिन्न दातृ संस्था र सञ्चार माध्यमबाट चेतावनी दिइए तापनि फेसबुकले समयमै सही कारबाही गर्न नसकेको बताइएको छ । अन्तर्राष्ट्रिय समाचार निकाय रोयटर्सका अनुसार सन् २०१३ मा फेसबुकमा, ‘हामीले रोहिंग्यलाई हिटलरले यहुदीलाई सकाए जसरी दमन गर्नुपर्दछ’, र ‘पेट्रोल छर्केर आगो लगाइदिऔं जसले गर्दा तिनीहरूले छिटै अललालाई भेट्न सकुन् ।’ भन्नेजस्ता सन्देश पोस्ट भएका थिए ।