नेगेटिभ पीसीआर रिपोर्ट बोकेर नेपाल आएका व्यक्तिमा कसरी देखियो ‘ओमिक्रोन’ ?

0
Shares

न्युज अफ नेपाल, काठमाडौं।

नेपालमा दुई जनामा कोरोना भाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनको सङ्क्रमण पुष्टि भएको छ । झण्डै दुई साताअघि नेपाल आएका विदेशी नागरिक र नेपालमा उनकाे सम्पर्कमाआएका व्यक्तिमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ  ।

मन्त्रालयका अनुसार नयाँ भेरियन्ट पुष्टि भएको देश हुँदै ६६ वर्षीय विदेशी नागरिक मंसिर ३ गते  नेपालको  त्रिभुवन अन्तरराष्ट्रिय हवाई नाका प्रयोग गरी नेपाल प्रवेश गरेका थिए । उनी नेपाल आउँदा पीसीआर रिपोर्ट नेगेटिभ भएको र खोपको मात्रा समेत पूरा गरेको पाइएको छ ।

यद्यपि मंसिर ७ गते ती विदेशी नागरिकसहित उनको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिमा मिल्दाजुल्दा लक्षण देखिएपछि परीक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।

सुरुमा उनीहरूबाट सङ्कलित नमूना परीक्षण गर्दा एस जीन  पुष्टि भएको थिएन (S-gene target failure) ।  सरुवा रोग अस्पताल टेकुमा फेरि जीन सिक्वेन्सिङ गर्दा आइतबार राति उनीहरूमा ओमिक्रोन पुष्टि भएको हो ।

हाल दुवै जना नेपाल सरकारले तोकेको मापदण्डअनुसार आइसोलेसनमा रही स्वास्थ्य लाभ गरिरहेका छन् । उनीहरुमा कुनै लक्षणहरू नदेखिएको  र स्वास्थ्यकर्मीको निगरानीमा राखिएको मन्त्रालयले जनाएको छ ।

नयाँ भेरियन्ट पुष्टि भएका दुई व्यक्तिहरूसँग सम्पर्कमा आएकाहरूको बृहत् रूपमा कन्ट्याक्ट ट्रेसिङसमेत गरिएको छ । कन्ट्याक्ट ट्रेसिङबाट सम्पर्कमा आएका ६६ जनाको पीसीआर परीक्षण गर्दा सबैको नतिजा नेगेटिभ आएको पनि मन्त्रालयले उल्लेख गरेको छ ।