डोटीका ६ पालिकामा एकीकृत समाजवादीको नेतृत्व चयन


विमल विष्ट, डोटी ।

नेकपा (एकीकृत समाजवादी)ले यहाँका छ पालिकामा नेतृत्व चयन गरेको छ । जिल्लामा नेकपा (एकीकृत समाजवादी)ले पछिल्लो समय आफ्नो सङ्गठन विस्तार अभियानलाई तीव्रता दिएको छ ।

जिल्लाका नौवटै स्थानीय तहमा कमिटी गठन गर्ने अभियानअन्तर्गत हालसम्म छ स्थानीय तहमा कमिटी गठन गरिएको नेकपा (एकीकृत समाजवादी)का जिल्ला अध्यक्ष दीर्घराज बोगटीले जानकारी दिनुभयो । उहाँका अनुसार हाल सम्म यहाँका दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका, पूर्वीचौकी, केआइसिंह, जोरायल, बडिकेदार गाउँपालिकामा पालिकास्तरीय कमिटी गठन गरिसकिएको छ ।

दिपायल सिलगढीमा शैलेन्द्र खड्काको अध्यक्षतामा ३३ सदस्यीय,, पूर्वीचौकीमा गोरखबहादुर बोगटीको अध्यक्षमा ५१ सदस्यीय, बडिकेदार लालबहादुर मन्नीको अध्यक्षतामा २७सदस्यीय, जोरायल गाउँपालिकामा रोहित बोहराका अध्यक्षतामा ५१ सदस्यीय, शिखर नगरपालिकामा जगन्नाथ बलायरको अध्यक्षमा ३९ सदस्यीय, केआइसिंहमा पुष्पराज जोशीको अध्यक्षतामा ७९ सदस्यीय कमिटी गठन गरिएको हो ।

गठन गरिएका सबै पालिकामा सर्वसम्मतरुपमा नेतृत्व चयन गरिएको र बाँकी रहेका पालिकामा पनि चार दिन भित्र नेतृत्व चयन गरिने अध्यक्ष बोगटीले बताउनुभयो । उहाँले भन्नुभयो, “सङ्गठन विस्तार अभियानलाई हामीले तीव्रता दिएका छौँ, सर्वसम्मतरुपमा नेतृत्व चयन गर्ने अभियान पनि जारी छ ।” जिल्लाका सबै पालिकामा सङ्गठन विस्तार गरिसकेपछि सङ्ठन सुदृढीकरणको कामलाई अगाडि बढाइने नेकपा (एकीकृत समाजवादी)ले डोटीले जनाएको छ ।