नेता किमको जस्तो छालाको कोट अरूले लगाउन नपाइने


प्योंगयांग, (एजेन्सी)। 

उत्तर कोरियाले अस्वाभाविक कारण छालाको लामो कोट लगाउने फेसनमाथि प्रतिबन्ध लगाएको छ । रेडियो फ्री एसियाका अनुसार उत्तर कोरियाली सर्वोच्च नेता किम जोंग उनले आफ्नो सो फेशनको कसैले नक्कल नगरून् भन्ने उद्देश्यले यो प्रतिबन्ध लगाएका हुन् । किमलाई यस्तो लामो ओभरकोट जस्तो छालाको कोट लगाएर सरकारी टेलिभिजनलगायत अन्य थुप्रै सार्वजनिक कार्यक्रमहरूमा उपस्थित हुने गरेको देखिन्छ ।

पसल–पसलमा यस्ता कोट युवा युवतीहरूलाई बिक्री नगर्न निर्देशन दिँदै प्रहरीले बिक्रीमा राखिएका तथा बाटोमा कसैले लगाएको देखेमा यस्ता कोट जफत गर्न थालेको छ । सञ्चार माध्यमले सर्वसाधारणले समेत किमको यो फेशन पछ्याउन थालेकाले यसमाथि नियन्त्रण गर्न खोजिएको जनाएको छ ।

गत जनवरीमा आठौं पार्टी कंग्रेसका वार्षिक अवसरमा आयोजित सैनिक परेडका बेला पनि उच्च पदस्थ अधिकारीहरूले त्यस्तै छालाको कोट लगाएर किमप्रति उच्च सम्मान प्रकट गरेका थिए । किमकी राजनीतिक रूपमा शक्रिशाली बहिनी किम योङ जोंगले पनि यस्तै कोट लगाएको देखेपछि कोरियाली युवतीहरूसमेत यसको पछि लागेका थिए ।

जसले गर्दा व्यापारीहरूले सिन्थेटिक कपडा आयात गर्दै धमाधम यस्ता कोट बनाएर बिक्री गर्न थालेका थिए । छालाकै कोट निकै महँगो पर्दछ । गाईको छालबाट बनाइएका यस्ता कोटको करिब ३४ अमेरिकी डलर पर्दछ । तर, सिन्थेटिकबाट बनेका कोट भने १६ डलरमै पाइने बताइएको छ ।