शिक्षक संगठनको १३ औँ जिल्ला अधिवेशन, नेतृत्व चयनका लागि निर्वाचन 


मोतीराम तिमल्सिना, काभ्रे ।

नेपाल राष्ट्रिय शिक्षक संगठन काभ्रेको १३ औ जिल्ला अधिवेशन बनेपामा आयोजना गरिएको छ । अधिवेशनका लागि शिक्षकहरू बीच निर्वाचन सुरु भएको छ । अधिवेशनको उद्घाटन पूर्व मन्त्री एवं नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बास्कोटाले गर्नु भएको थियो ।
अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै पूर्व मन्त्री बास्कोटाले चेतना भएका शिक्षकहरूले समाज रूपान्तरणका लागि योगदान पु¥याएको बताउनु भयो ।

पञ्चायतकालमा शिक्षकहरूले बहुदल ल्याउन गरेको योगदानको स्मरण गर्दै प्रजातन्त्र प्राप्ति पस्चात शिक्षकहरूको पेसालाई व्यवसायीकरण भन्दा धेरै राजनीतिकरण गरिएको बताउनु भयो । ‘लक्ष्य प्राप्तिका लागि चेतना बोकेका मान्छेहरूको आवश्यक छ’–पूर्व मन्त्री बास्कोटाले भन्नुभयो–‘शिक्षक संगठनले लक्ष्य प्राप्तिका लागि सुरु गरेको अभियानमा नेकपा एमालेको साथ र सहयोग छ ।’

शिक्षकहरूका हक र अधिकार तथा राष्ट्रियताको रक्षा, महिला अधिकार, पछाडि परेका समुदायको हक हितका लागि नेकपा एमालेले गरेको प्रतिबद्धता सरकारमा रहँदा पुरा गरेको बास्कोटाले बताउनु भयो । शिक्षक संगठनका केन्द्रीय महासचिव हंसबहादुर शाहीले २०२८ सालमा जारी गरेको शिक्षा ऐनले बहुदल र गणतन्त्र प्राप्ति भएको यतिका वर्षसम्म कार्य गरिरहेकाले त्यसको शशोधन तथा नयाँ ऐन निर्माणका लागि गरिएको प्रयास सार्थक नभएको बताउनु भयो ।

शिक्षकहरुलाई गरिएको विभेद तथा छुट्टाईएको बर्गलाई हटाउँदै एकै प्रकारका शिक्षकहरू तयार गर्न ऐन जारी हुनु पर्ने भए पनि हुन नसकेको उहाँले बताउनु भयो । नेकपा एमाले काभ्रेका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले शिक्षकहरूले राजनीतिक जिम्मेवारी भन्दा धेरै शैक्षिक सुधारमा जोड दिनु पर्ने बताउनु भयो ।

‘संविधान बमोजिम माध्यमिक तहसम्मको शिक्षाको अधिकार र शिक्षकहरूको व्यवस्थापन स्थानीय तहको हो’–अध्यक्ष ब्याञ्जुले भन्नुभयो–‘स्थानीय तहको अधिकारलाई केन्द्रले हस्तक्षेप गर्दा शिक्षामा गर्न सकिने सुधार स्थानीय तहले गर्न सकेका छैनन् ।’
अधिवेशनमा संगठनका पूर्व केन्द्रीय अध्यक्ष माधव अधिकारी, बागमती प्रदेश अध्यक्ष निरबहादुर कार्की, उपाध्यक्ष सुभद्रा अधिकारी, शिक्षक महासंघ काभ्रेका सचिव बासु थापा, विभिन्न संघ संगठनका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । १ हजार ५ सय शिक्षकहरूले शिक्षकहरूको हक हितका लागि नेतृत्व गर्दै शिक्षामा भएका समस्या समाधानका लागि तीन तहकै सरकारसँग समन्वय र सहकार्य गर्न सहजीकरण गर्नु पर्ने बताएका थिए । नेतृत्वका लागि बनेपामा शिक्षकहरूको मतदान भइरहेको छ ।