शासक दलहरूका कारण देश दुष्चक्रमा फस्दै : बिजुक्छे


पुष्कर बुढाथोकी, भक्तपुर ।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रमुख शासक दलहरूका गतिविधिका कारण देश चौतर्फी ढङ्गले दुष्चक्रमा फस्दै गएको बताउनुभएको छ । भक्तपुर नगरपालिकाले सञ्चालन गरिरहेको ख्वप इन्जिनियरिङ कलेजको २० औँ र ख्वप कलेज अफ इन्जिनियरिङको १३ औँ वार्षिकोत्सवको अवसरमा उहाँले देशका शासक दलहरूको रवैयाका कारण देश दुष्चक्रमा फस्दै गएको बताउनुभयो ।

उहाँले नेपालमा प्रत्यक्ष रूपमा भारतीय एकाधिकार पूँजी र संस्कृतिको प्रभाव देखिन थालेकाले देश परनिर्भर बन्दै गइएको बताउनुभयो । अध्यक्ष बिजुक्छेले देशको संविधानमा समाजवादको कुरा उल्लेख भएको तर देश चलाउने दलका नेताहरू भने पूँजीवादी भासमा पर्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो ।

नेताहरू समाजवादको सिद्धान्त बोक्ने तर व्यवहार भने पूँजीवादको गर्ने स्वभावका हुनु विडम्बनाको विषय रहेको  उल्लेख गर्दै समाजवादी व्यवस्थामा उत्पादनका साधनहरू राष्ट्रियकरण हुने बताउनुभयो । सिद्धान्त विपरीत काम गर्ने नेताहरू बढिरहेको बताउँदै पूँजीवादी व्यवस्थामा सरकारमा गएर समाजवाद ल्याउन नसकिने उल्लेख गर्दै अध्यक्ष बिजुक्छेले शान्तिपूर्ण तरिकाले समाजवाद नआउने भएकाले त्यसका लागि संघर्ष जरुरी रहेकोमा जोड दिनुभयो ।

अध्यक्ष  बिजुक्छेले कार्ल मार्क्सको सिद्धान्तमा पूँजीवादको ठाउँमा सर्वहारा वर्गको शासन सत्ता आउँछ भनी उल्लेख गरिएको बताउनुभयो । बौद्धिक व्यक्तिहरूलाई राजनीतिबाट टाढा राख्न भ्रम पैmलाइरहेको उल्लेख गर्दै बिजुक्छेले राजनीतिबाट कोही पनि अछुतो नरहने र देशमा निस्वार्थ सेवा गर्ने राजनीतिकर्र्मीको खाँचो रहेको स्पष्ट पार्नुभयो । देशमा विदेशी विश्वविद्यालय खुलिरहेको बताउँदै उहाँले सर्टिफिकेट समेत बिक्रीको सम्भावना बढेको बताउनुभयो ।

नेमकिपाका सचिव एवं सांसद प्रेम सुवालले  ७ वर्ष अगाडि मेडिकल कलेज सहितको ख्वप विश्वविद्यालय सञ्चालनको लागि ख्वप विश्वविद्यालयसम्बन्धी विधेयक दर्ता भईसकेपनि हालसम्म स्विकृत नभएको बताउनुभयो । भक्तपुर नगरप्रमुख सुनिल प्रजापतिले नगरपालिकाले सस्तो र गुणस्तरीय शिक्षा प्रदान गर्ने र २१ औँ शताब्दीका लागि योग्य नागरिक तयार गर्ने उद्देश्यले २ वटा इन्जिनियरिङ कलेज सहित ७ वटा शैक्षिक संस्थाहरु सञ्चालन गरिरहेको बताउनुभयो । उहाँले ती शैक्षिक संस्थाहरुमा ६ हजार भन्दा बढी विद्यार्थी अध्ययन गरिरहेको जानकारी दिनुभयो ।

बागमती प्रदेशका सभासद् सुरेन्द्रराज गोसाईले ख्वपको राजनैतिक, साँस्कृतिक र आर्थिक पहिचान बनाउनमा नेमकिपाको योगदानलाई स्मरण गर्नुहुँदै विगतको इतिहासबाट नयाँ पुस्ताले सिक्नुपर्ने आवश्यकता औंल्याउनुभयो । पूर्वाञ्चल विश्वविद्यालयका डिन प्राडा देवी प्रसाद भट्टराईले पूर्वाञ्चल विश्वविद्यालयले गरिरहेको गतिविधिको बारेमा चर्चा गर्दै ख्वप इन्जिनियरिङ कलेज पहिलो समुदायमा आधारित कलेजको भएको उल्लेख गर्नुभयो ।

नेपाल इन्जिनियरिङ काउन्सिलका रजिस्ट्रार शिवमंगल गिरीले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित २ वटै इन्जिनियरिङ कलेजको परिणाम सराहनीय रहेको उल्लेख गर्दै इन्जिनियरिङ काउन्सिलको तर्पmबाट पेसागत र गुणस्तर सुधारका लागि आवश्यक सहयोगको लागि प्रतिबद्धता व्यक्त  गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले ख्वपका विद्यार्थीहरू सबै क्षेत्रमा प्रतिस्पर्धी बनिरहेको उल्लेख गर्नुभयो ।
भक्तपुर नगर उपप्रमुख रजनी जोशीले सर्वसाधारणको शिक्षाको पहुँच अभिवृद्धिको लागि नपाले गरिरहेको प्रयास र शिक्षाको आवश्यकताको विषयमा चर्चा गर्नुभयो ।

भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले सय वर्ष पछिको भक्तपुरको अवधारणालाई मूर्त रुप दिन शिक्षा, स्वास्थ्य र सम्पदा संरक्षणलाई उच्च प्राथमिकता दिई भक्तपुर नगरपालिका अगाडि बढिरहेको चर्चा गर्दै नगरभित्रका विद्यार्थीको उच्च शिक्षा प्राप्तिको सहजताका लागि नगरपालिकाले शैक्षिक ऋण सहुलियत ब्याजदरमा प्रदान गर्दै आइरहेको बताउनुभयो ।

कार्यक्रममा ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य ई. सुजन माक र ख्वप कलेज अफ इन्जिनियिरिङ्गका प्राचार्य ई.सुनिल दुवालले कलेजको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि बिजुक्छेले सम्पदा संरक्षणमा योगदान गर्ने डकर्मी रामचन्द्र अवाल, सिकर्मी लक्ष्मीभक्त राजचल र लोहकर्मी काजीराम रंजितकारलाई तथा ख्वप माविमा दस वर्ष निरन्तर सेवा गरेका २२ जना शिक्षक तथा कर्मचारीहरूलाई सम्मान गर्नुभएको थियो ।