धुलिखेलको काभ्रे भञ्ज्याङमा १५ शय्याको अस्पताल

डाईलोसिस केन्द्र र सरुवा रोग नियन्त्रण अस्पताल बनाउने नगरपालिकाको तयारी 


मोतीराम तिमल्सिना, काभ्रे ।

काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर ९ काभ्रे भन्ज्याङमा १५ शय्याको अस्पताल निर्माण सुरु भएको छ । ९ रोपनी क्षेत्रफलमा निर्माण सुरु भएको अस्पतालको म्याट फाउन्डेसनको ढलान सुरु भएको छ । भूकम्प प्रतिरोधी भवनको गुणस्तर तथा भइरहेको कामको नगरपालिकाको टोलीले अनुगमन गरेको छ ।

अस्पताल निर्माणको नगरपालिका प्रमुख अशोक ब्याञ्जु, उपप्रमुख विमला शर्मा, प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइँटेल, प्राविधिक, वडा अध्यक्षहरू, स्थानीयहरूले अनुगमन गरेका छन् । ६५ सेमी मोटाइमा अस्पतालको म्याट फाउन्डेसनको ढलान गरिएको छ ।


जमिन तहको ६५ सेमी मोटाइको ढलानको क्षेत्रफल ४ सय १५ घन मिटर छ । दुई वटा ब्लकमा निर्माण हुने भवनको १ हजार ४ सय १० घनमिटर छ । ब्लक ए मा ८ सय घनमिटरमा तीन तल्ला ढलानको पूर्वाधार निर्माण हुनेछ । ६ सय घनमिटरको दोस्रो ब्लकमा साढे २ तल्लाको भवन निर्माण हुनेछ । धुलिखेल नगरपालिकाले सुरु गरेको स्वास्थ्य सहर निर्माण अभियानमा उक्त अस्पतालले महत्त्वपूर्ण योगदान गर्नेछ ।

‘काभ्रेभञ्ज्याङ्गमा निर्माण सुरु भएको १५ शय्याको अस्पताललाई सरुवा रोग नियन्त्रण अस्पतालका रूपमा विकास गर्ने र डाईलोसिस गर्नु पर्ने बिरामीहरूका लागि त्यही अस्पतालबाट सेवा दिने गरी व्यवस्थापन गर्न तयारी गरेका छौ’ं– नगर प्रमुख अशोक ब्याञ्जुले भन्नुभयो–‘सरुवा रोग नियन्त्रण र विभिन्न रोगबाट सङ्क्रमित व्यक्तिहरूको डाईलोसिस गर्ने केन्द्रका रूपमा उक्त अस्पताललाई अघि बढाईने छ ।’ स्वस्थ नगर, आरोग्य सहरका रूपमा धुलिखेललाई विकास गर्न उक्त अस्पतालले थप मद्दत पुग्नेछ ।

विपी राजमार्गमा हुने सवारी दुर्घटना तथा सोही राजमार्ग हुँदै विभिन्न जिल्लाबाट आएका बिरामीहरूको उपचार समेत पहिलो चरणमा सोही अस्पतालमा गर्न सकिनेछ । धुलिखेल नगरपालिकाको वडा नम्बर ८,९, १० र ११ साथै नमोबुद्ध नगरपालिकाका केही वडाका नागरिकहरू अस्पतालको सेवाबाट प्रत्यक्ष लाभान्वित हुनेछन् । त

त्कालीन केपी ओली नेतृत्वको सरकारले देशका ७ सय ५३ वटै स्थानीय तहमा सुरु गरेको अस्पताल निर्माण कार्यले धुलिखेल नगरपालिकामा सार्थकता प्राप्त गर्दैछ । सरकारले विनियोजन गरेको बजेट तथा अस्पताल सञ्चालनका लागि दरबन्दी समेत नेपाल सरकारले नै व्यवस्थापन गर्नेछ ।

स्थानीय सरकारलाई थप दायित्व नपर्ने गरी अस्पताल सञ्चालनको मापदण्ड स्वीकृत गरेको केपी ओली नेतृत्वको सरकारले सुरु गरेका अस्पतालहरू धेरै स्थानमा निर्माण हुन थालेका छन् ।

नगरपालिकाले उक्त अस्पताल निर्माणका लागि झन्डै २२ करोड इस्टमेट गरेको छ । २०७८ असार १४ गते निर्माण सम्झौता गरेको निर्माण कम्पनी ड्रागन कमलजिन शिवालय जेभीले २०८० असार १४ भित्र निर्माण सम्पन्न गरिसक्नु पर्नेछ । भ्याट बाहेक ११ करोड ४२ लाख ३७ हजार ८ सय ६१ रुपैयाँमा सम्झौता गरेको उक्त भवनहरूको निर्माण समयावधि अगावै सम्पन्न हुने निर्माण व्यवसायीले बताएका छन् ।