काभ्रेमा ८२ जनामा एचआइभी सङ्क्रमण, एआरभी सेवामा गोपनीयता नभएको गुनासो


मोतीराम तिमल्सिना, काभ्रे ।

असमानता हटाऔँ, एड्स अन्त्य गरौँ भन्ने नाराका साथ धुलिखेल नगरपालिकामा ३४ औ विश्व एड्स दिवसको सन्दर्भ पारी अन्तर्क्रिया तथा प्रभात फेरी कार्यक्रमको आयोजना गरिएको छ । धुलिखेल नगरपालिकाका विभिन्न स्थानको परिक्रमा गरी प्रभात फेरीमा सहभागी भएको -याली नगरपालिकामा आयोजित अन्तर्क्रिया कार्यक्रममा सहभागी भएको थियो ।

धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धुलिखेल सञ्जीवनी क्याम्पस तथा धुलिखेल क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीहरू, स्वयंसेविका र स्वास्थ्य संस्थाहरूका प्रतिनिधिहरू सहभागी थिए । जनचेतना फैलाउँदै एड्सलाई अन्त्य गर्न विद्यालय तह देखिकै शिक्षालाई प्रभावकारी बनाउनु पर्ने सहभागीहरूले जोड दिएका थिए ।

कार्यक्रममा बोल्दै नगर प्रमुख ब्याञ्जुले धुलिखेललाई स्वस्थ सहर निर्माण गर्ने अभियान सञ्चालन भएकाले एड्स रोग लाग्नै नदिन बालबालिका तथा समुदायमा जनचेतना फैलाउने कार्य गरिरहेको तथा सङ्क्रमण भए नभएको नियमित परीक्षण गर्ने, सङ्क्रमण भएकाहरूलाई सरकारले उपलब्ध गराएको सेवालाई अझै प्रभावकारी बनाउन नगरपालिकाको तर्फबाट निरन्तर कार्यक्रम गरिरहने बताउनु भयो ।

समाजमा एड्स लागेका व्यक्तिहरूलाई सम्मान गर्नु पर्ने र उनीहरूको उपचारमा परिवार र समुदायले ध्यान दिनु पर्नेमा नगर प्रमुख ब्याञ्जुले जोड दिनु भयो । कार्यक्रममा स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. पुरुषोत्तम सेढाँईले विश्वमा फैलिएको एचआइभी र एड्सलाई अन्त्य गर्न सबै पक्षको तदारुकता आवश्यक पर्ने बताउनु भयो ।

विद्यालय तहका बालबालिकाहरुले लागु औषध तथा अन्य पदार्थहरुको सेवनबाट बच्नु पर्ने उहाँले बताउनु भयो । विश्वमा ७ करोड ९३ लाख व्यक्तिहरूलाई एचआइभी एड्स लागिरहेको तथ्याङ्क सार्वजनिक भएको छ । ३ करोड ६३ लाख व्यक्तिहरूको त्यही रोगका कारण मृत्यु भएको छ ।

कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख सन्दीप केसीले नगरपालिका भित्र यस्ता रोगहरू नियन्त्रण गर्न अभियान सुरु गरिएको बताउँदै रोग लागेका व्यक्तिहरूको उपचारमा नगरपालिकाले समन्वय गर्ने बताउनु भयो । सुईद्वारा लागूपदार्थ प्रयोग गर्नेहरू, यौनकर्मी, पुरुष समलिङ्गी तथा तेस्रोलिंगीहरु र रोजगारीका लागि बिदेसिनेहरूबाट सङ्क्रमण फैलन थालेको छ ।

सक्रिय प्लस नेपालका अध्यक्ष अमिर खड्काले जिल्लामा १ सय ५० जनाले एचआइभी एड्सको औषधी सेवन गरिरहेको भए पनि नियमित औषधी सेवन गर्नेहरूको सङ्ख्या ८२ रहेको बताउनु भयो । सङ्क्रमितहरूलाई एआरभी औषधी लिने स्थानमा गोपनीयता नभएको, अस्पतालमा हुने भिडभाडका कारण पटक पटक स्थान परिवर्तन भएको, परीक्षण तथा उपचारमा समस्या भएकाले तीनै तहको प्राथमिकतामा नपरेको अध्यक्ष खड्काले बताउनु भयो ।

एआरभी औषधी सेवन गरेका व्यक्तिहरूबाट एचआइभी नसर्ने अध्यक्ष खड्काले बताउनु भयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइँटेल, स्वास्थ्य शाखाका अधिकृत सरोज थापा, नेपाल पत्रकार महासङ्घ काभ्रेका निवर्तमान अध्यक्ष मोतीराम तिमिल्सना, जनप्रतिनिधि तथा कर्मचारीहरूको सहभागिता रहेको थियो ।