आन्दोलनरत आंशिक शिक्षकलाई मौका प्रदान


काठमाडौं, (नेस)।

स्थायी हुनुपर्ने माग गर्दै त्रिभुवन विश्वविद्यालय उपकुलपति कार्यालयमा धर्ना दिँदै आएका देशभरका आंशिक शिक्षकलाई त्रिभुवन विश्वविद्यालयले एकपटकको परीक्षामा सहभागी हुन पाउने अन्तिम मौका दिने भएको छ । त्रिविको हिजो मंगलबार बसेको सिनेटको बैठकले परीक्षामा सहभागी हुँदा उमेरहद नलाग्ने निर्णय गरेको छ ।

नेपाली कांग्रेस निकट प्राध्यापक संघको निर्देशनमा देशभरका आंगिक क्याम्पसबाट काठमाडौं आएर धर्ना दिएका आंशिक शिक्षकहरूले स्वतः वा विशेष विज्ञापन खुलाएर स्थायी नियुक्ति दिन माग गरेका छन् । सो मागलाई सम्बोधन गर्ने क्रममा सिनेटको बैठकले विसं २०७९ मा विशेष विज्ञापन गर्दा ती शिक्षकलाई उमेरहद नलाग्ने निर्णय गरेको हो ।

सिनेटको बैठकमा विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले लामो समयदेखि देखिएका शिक्षक र कर्मचारीको समस्या समाधान गर्न निर्देशन दिनुभएको थियो । उहाँले त्रिविको साखलाई अझै उचाइमा पु¥याउन सबैको सहयोग रहेको पनि बताउनुभयो ।

सिनेटले करार शिक्षकलाई विशेष विज्ञापन खुलाएर स्थायी प्रक्रिया अघि बढाउने र लामो समयदेखि करारमा कार्यरत कर्मचारीलाई विशेष व्यवस्था गर्ने निर्णय गरेको छ । कार्यालय सहयोगी वा सो सरहको कर्मचारीको हकमा १० वर्ष सेवा गरेकालाई स्थायी गर्ने पनि सिनेटले निर्णय गरेको छ । तर, अन्य कर्मचारीको विषयमा भने कुनै निर्णय भएन ।

बैठकमा आर्थिक वर्ष २०७८/०७९ को बजेट, नीति तथा कार्यक्रम पारित गरिएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले त्रिविमा देखिएको समस्या समाधान गर्न आफू तयार रहेको बताउनुभयो ।