ओमिक्रोनको संक्रमण भित्रन नदिन सतर्कता अपनाइने


काठमाडौं, (नेस) ।

सरकारले कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भित्रन नदिन आवश्यक सतर्कता अपनाउने निर्णय गरेको छ ।
मंसिर १३ गते बसेको मन्त्रिपरिषद् बैठकले ओमिक्रोनको संक्रमण देखिएका मुलुकबाट नेपाल आउने यात्रुको यात्रा व्यवस्थापनसम्बन्धी आदेश जारी गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

नयाँ भेरियन्टका रूपमा पुष्टि भएको ओमिक्रोन तीव्र फैलने र गम्भीर संक्रमण गराउने खालको भएको भन्दै विश्व स्वास्थ्य संगठनले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । दक्षिण अफ्रिका, अस्ट्रेलिया, बेल्जियम, जर्मनी, हङकङ, नेदरल्यान्ड, बेलायतलगायत मुलुकमा नयाँ भेरियन्टका संक्रमित फेला परेका छन् । संक्रमण फैलन सक्ने भन्दै सरकारले अत्यावश्यक सावधानी अपनाएको छ ।

संक्रमण देखिएका मुलुकबाट आउने यात्रुको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण गर्ने र होटल क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाइएको छ ।