डोटीको सायलका बाढी पहिराे पीडितलाई राहत वितरण


विमल विष्ट, डोटी । 

गएको असोज ३१ गते देखि परेको बेमौसमी वर्षाका कारण आएको बाढी पहिरामा परि पीडित भएका सायल गाउँपालिका–१ का बाढी पहिरा पीडितलाई राहत वितरण गरिएको छ ।

मिसोएसियाको आर्थिक सहयोग तथा कारीतास नेपाल र सामुदायिक विकास मञ्चको सहयोगमा उक्त वडाका ३० घर परिवारलाई राहत वितरण गरिएको हो ।

हिराले खेती बगाएको तथा घर बगाएर पीडित भएका परिवारलाई प्रति परिवारलाई ब्लाङ्केट दुई, त्रिपाल एक, ३० किलो मसिनो चामल, पाँच किलो दाल, तीन लिटर खाने तेल तथा एक किलो नुन वितरण गरिएको कारीतास नेपालका अनुगमन मुल्याङ्कन अधिकृत माया बमले जानकारी दिनुभयो ।

बाढी पहिराका कारण खेती योग्य जमिन तथा घर नभएर पीडित भएका परिवारहरुलाई संस्थाले खाद्यान्न लगायत लुगा पडा सहित राहत वितरण गरेपछि पीडितहरु खुसी भएका छन् ।

उक्त बाढी पहिराका कारण जिल्लामा १६ जनाको ज्यान गएको थियो भने एक जना बेपत्ता भएका छन् । यहाँका अधिकांश बाढी पहिरा पीडितहरूको अहिले सम्म पनि फालमुनि बास भएको छ । बाढी पहिरामा ज्यान गुमाएका परिवारलाई सरकारले जनही रु दुई लाखका हिसाबले राहत प्रदान गरेको थियो ।