पूर्वपत्नीको हत्यारा तथा यौन व्यभिचारीलाई मृत्युदण्ड


पर्चम्यान, (एजेन्सी) । 

आफ्नी परित्यक्त पत्नीको हत्या तथा सानी छोरीमाथि यौन दुव्र्यवहार गरेको अभियोगमा अमेरिकाको मिसिसिप्पीमा एकजना व्यक्तिलाई बुधबार साँझ मृत्युदण्ड दिइएको छ । उनको आक्रमणको कारण मर्न लागेकी पत्नीको सामुन्ने ती पुरुषले छोरीमाथि कुकृत्य गरेका थिए । नौ वर्षपछि मिसिसिप्पीमा मृत्युदण्ड पाउने उनी पहिलो कैदी भएका छन् ।

ती ५० वर्षीय डेविड निल कोक्सले आफूले मृत्युदण्डविरुद्ध पेस गरेका सम्पूर्ण अपिलका कानुनी दस्तावेज फिर्ता लिएर आफूलाई मृत्युदण्डको सही भागिदार बताएपछि सर्वोच्च अदालतले उनको मृत्युदण्डको तिथि तय गरेको थियो । विषाक्त इन्जेक्सन दिइँदा उनी निकै शान्ति र स्थिर अवस्थामा रहेका थिए । पर्चम्यानस्थित मिसिसिप्पी राज्य कारागारमा उनलाई स्थानीय समयअनुसार साँझ ६ बजेर १२ मिनेट जाँदा मृत घोषित गरिएको थियो ।

सन् २०१० का मे महिनामा आफ्नी पूर्वपत्नी किम किर्क कोक्सको हत्या गरेको अभियोगमा उनलाई सन् २०१२ मा अदालतले दोषी ठहर गरेको थियो । मृत्युदण्ड दिइनुअघि उनले कुनै समय आफू पनि एक असल मानिस भएको कुरा आफ्ना सन्तानहरूले थाहा पाओस् भन्ने चाहेको बताएका थिए । १२ वर्षको उमेरमा आफ्नी आमाको सामु तीनपटक यौन दुव्र्यवहार गरिएका कोक्सका सौतेनी छोरीले पनि उनलाई मृत्युदण्ड दिइएको दृश्य प्रत्यक्ष हेरेकी थिइन् ।