भाइरल ज्वरोमा एन्टिबायोटिकको दुरुपयोग



सामान्य भाषामा रुघाखोकी भनिए पनि मेडिकल भाषामा भाइरल ज्वरो वा भाइरल फ्लु भनिने संक्रमणका कारण चिसो बढेसँगै बिरामीको संख्या बढेको देखिन्छ । सामान्य ज्वरो आउनु १०१ डिग्रीभन्दा कम, पातलो सिँगान बग्नु, लगातार हाछ्यँु आउनु, नाक बन्द हुनु, खोकी लाग्नु, आवाज धोद्रो हुनु, टाउको दुख्नु, घाँटी दुख्नु, जीउ आलस्य हुनु यसका लक्षण हुन् ।

यी लक्षण देखा परेमा घरमै सामान्य उपचार गर्दा हुन्छ । जस्तै– तातोपानीमा मह, अदुवा, कागती या तुलसी पत्ता राखेर दिनमा ४–५ गिलास पिउने गर्दा यसमा राहत मिल्छ । यस्तो बेला प्रशस्त दाल, सुप र गेडागुडीको रस पिउनु लाभदायक हुन्छ ।भाइरल ज्वरो-फ्लुमा उपचार विधि सामान्य हुन्छ तर जोखिम आइपर्न लागेको संकेत भएमा उपचार बढाउँदै लगिन्छ । तर कतिपय बिरामी यस्तो अवस्थामा धेरै औषधिको अपेक्षा गर्छन् । डाक्टरले केही औषधि नै दिएनन्, जाबो सिटामोल मात्र दिए भन्दै २–३ दिन कुर्ने धैर्य नराखी औषधिपसल र क्लिनिकबाट आफैं गई एन्टिबायोटिक औषधि किनेर खान्छन् । त्यो पनि २–३ औषधि खाएर अलिकति कम भएपछि औषधि खानै बन्द गरिदिन्छन् ।

ज्वरो आउनेबित्तिकै एन्टिबायोटिक नचलाए रोग निको नै हुँदैन भन्ने धारणा छ मान्छेमा । त्यो गलत हो । कति भाइरल फ्लुका बिरामी त रुघा लागेको १–२ दिनमै औषधिपसलबाट एन्टिबायोटिक औषधि खाएर पनि अस्पताल आइपुग्छन् । तर एन्टिबायोटिक भनेको साधारणतया जीवाणु (ब्याक्टेरिया) को विरुद्ध काम गर्ने औषधि हो । यसले भाइरसले गर्ने संक्रमणमा कुनै फाइदा गर्दैन, बरु अझ हानिकारक हुन सक्छ ।
एकातिर पैसाको नाश, अर्कोतर्फ आउन सक्ने साइड इफेक्ट अनि सही मात्रा र सही समयबारे ज्ञान नभईकन त्यस्तो औषधि २–३ मात्रा खाएर ‘एन्टिबायोटिकको दुरुपयोग’ हुने गरेको छ ।

यसो हुँदा ‘एन्टिबायोटिक रेसिस्स्टेन्स’ हुने सम्भावना बढेर जान्छ । त्यो एन्टिबायोटिकले जुन–जुन कीटाणु-जीवाणुलाई नष्ट गर्न सक्थ्यो, भविष्यमा त्यस कीटाणुले त्यही एन्टिबायोटिकविरुद्ध प्रतिरोध शक्ति विकास गर्ने र त्यो कीटाणु मार्न त्यो एन्टिबायोटिकभन्दा माथिल्लो स्तरको एन्टिबायोटिक प्रयोग गर्नुपर्ने अवस्था नै ‘एन्टिबायोटिक रेसिस्स्टेन्स’ हो । बिरामीहरूको भ्रम र जनचेतनाको अभावको प्रतिफल यस्तो हुन गएको हो । जति धेरै र कडा औषधि लेखिदियो, उति राम्रो डाक्टर ठान्ने प्रवृत्तिको कारण पनि यस्तो हुने गरेको हो ।
– दिया सुवेदी, कलंकी 

प्रतिक्रिया दिनुहोस्