मृतक परिवारलाई जातीय समाजको तर्फबाट २ लाख ६६ हजार प्रदान


न्युज अफ नेपाल, ललितपुर ।

ग्यास सिलिण्डर पड्किएर मृत्यू हुने ललितपुरका ताम्रकार परिवारलाई नेवाः समुदायका विभिन्न जातीय समाज, खलः पुचको तर्फबाट २ लाख ६६ हजार रुपैयाँ सहयोग स्वरुप प्रदान गरेको छ ।

२१ वटा जातीय समाजसहित नेवाः देय् दबू ललितपुर शाखा, नेपाल भाषा मंका खलःको तर्फबाट सो रकम जुटाइएको हो।सो रकम संयोजक एवं नेपाल तण्डुकार समाजका अध्यक्ष शिवराम तण्डुकारले अनार ताम्रकारलाई प्रदान गर्नुभयो।सो अवसरमा सम्बन्धित समाज र खलः पुचका प्रतिनिधिहरु उपस्थिति भएका थिए।

ग्यास पड्किएर धन र जनको क्ष्ँति भई सम्बद्ध परिवारमा परेको पीडामा मलम पट्टी हाल्ने हिसाबले सहयोग गरेका हौं। जातीय समाजले आफूखुशी दिएको रकम जुटाएर पीडित परिवारलाई प्रदान गरेका हौं। यस कार्यमा स्थानीय तहको पनि ध्यान जाओस् ।’ अध्यक्ष तण्डुकारले भन्नुभयो ।

कार्तिक १९ गते शुक्रबार घरको तेस्रो तल्लाबाट आगो सल्किएर चोथो तल्लामा श्री ग्यास सिलिण्डर पड्किएको थियो । त्यसबाट चार जनाको घटनास्थलमै निधन भएको थियो। मनकारी व्यक्तिहरुको सहयोग आउने क्रम जारी रहेको बताउँदै यसमा ललितपुर महानगरपालिकाको ध्यान जानुपर्ने पनि पीडितहरुलाई राहत जुटाउन सक्रिय स्थानीयबासी राजु ताम्रकारले भन्नुभयो ।

यसैबीच ललितपुर महानगरपालिकाका उपप्रमुख गीता सत्यालले मृत्यू हुने परिवारको सन्तानको पढाई खर्च आफूले व्यक्तिगत रुपमा व्यहोर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । पीडित परिवारलाई १५-१५ हजार रुपैयाँ प्रदान गर्ने दाताहरुमा चक्रबहील टोल सुधार समितिका उपाध्यक्ष अनिल ताम्रकार,उर्मिला नेपाल ९केसी० रहनुभएको छ ।

त्यस्तै ५-५ हजार रुपैयाँ प्रदान गर्नेहरुमा पुरुषोत्तम मानन्धर, ज्ञानुराज श्रेष्ठ रहनुभएको छ । दुर्घटनाबाट घाईत सिर्जना ताम्रकारको हाल पाटन अस्पतालमा उपचार भइरहेको छ ।उहाँको ढाड र खुट्टा भाँच्चिएको थियो । उहाँको उपचार खर्च हाललाई इटीटोलमा रहेको श्री करुणामय सहकारीले व्यहोरिरहेको बुझिएको छ।ताम्रकारको उपचार खर्च महानगरपालिकाले व्यहोर्ने मेयर चिरिबाबु महर्जनले वचन दिनुभएको थियो ।

पीडितलाई क्षतिपूर्ति दिलाउन स्थानीयस्तरमा नबहाल ग्यास बिस्फोट पीडित समिति गठन गरिएको छ । समितिले मनकारी व्यक्ति, संघसंस्थालाई यथा सहयोगको लागि सार्वजनिक रुपमा आहवान गर्दै आएको छ । त्यसैगरी ताम्रकार समाजले १ लाख रुपैयाँ राखेर राहत कोष खडा गरेको छ ।