मुस्ताङमा ३० वर्ष यताकै ठूलो हिउँ पहिरो, भाग दौडमा ११ घाइते

0
Shares

दुर्गाप्रसाद शर्मा, पर्वत ।

हिमाल पारीको जिल्ला मुस्ताङको थासाङ गाउँपालिकामा आइतबार बिहान गएको हिम पहिरो जाँदा  ११ जना घाइते भएका छन् । धौलागिरि हिमशृङखलाबाट सुरु भएको ठूलो हिम पहिरो थासाङ गाउँपालिका-२ कोवाङसम्म आइपुग्ने डरमा भाग दौड हुँदा विद्यार्थी र सर्वसाधारण गरी ११ जना घाइते भएका हुन् ।

स्थानीयवासीले यति ठुलो हिउँ पहिरो ३० वर्षपछि खसेको हो । मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालका अनुसार थासाङ्ग गाउँपालिकाको याङदाङ चौरीखर्कमा गएको पहिरोको चिसोपना र आवाज तथा धुलोले तल्लो बस्ती प्रभावित भएको छ । बस्ती सम्म भने पहिरो आएको छैन ।

पहिरो आएको थाहा पाएपछि त्यसभन्दा तल रहेका बस्ती तथा विद्यालयमा भागाभाग हुँदा कोवाङस्थित जनआदर्श अमरसिंह माविका शिक्षक र विद्यार्थी तथा स्थानीय गरेर ११ जना सामान्य घाइते भएका छन्। घाइतेको मुस्ताङ अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य छ ।

‘पहिरो बस्ती सम्म आएको छैन, त्यसले मानवीय क्षति पनि भएको छैन।’ सहायक प्रजिअ ढकालले भन्नुभयो ‘तत्काल नदी सम्म पहिरो आउने र तल्लो तटीय क्षेत्रमा समेत जोखिम हुने अवस्था छैन।’ करिब ५ किलोमिटर माथिबाट आएको पहिरो नाउरीकोट माथिल्लो क्षेत्र सम्म आएको थियो ।

झन्डै आधा घण्टासम्म बगेको पहिरोले हिउँका चट्टान उर्लिएर तलसम्म खस्दा पहिरोमा परेर आधा दर्जन चौर गोठका भने क्षति पुगेको छ । चौरी हराइरहेको सूचना आएको तर गोठमा गोठाला भए नभएको  भने जानकारीमा नआएको सहायक प्रजिअ ढकालले बताउनुभयो । १ सय भन्दा बढी चौरी पुरिएको हुन सक्ने आशङ्का गरिएको छ ।  ‘उच्च हिमाली क्षेत्रमा पहिरो गएका पूर्ण क्षतिको विवरण आउन भने केही समय लाग्छ।’ उहाँले भन्नुभयो ।