पार्टीको भूमिका सशक्त बनाउने विषयमा एकीकृत समाजवादीको छलफल


काठमाडौँ ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय कमिटीको दोस्रो बैठकमा कम्युनिष्ट आन्दोलनलाई सही दिशा प्रदान गर्न पार्टीले सशक्तः भूमिका निर्वाह गर्ने विषयमा छलफल भएको छ । छलफलका क्रममा पार्टी अध्यक्ष माधवकुमार नेपालले माक्र्सवाद लेनिनवादको महत्व, पुँजीवाद र समाजवादको अन्तरविरोध, पुँजीवादी लोकतन्त्रका विशेषता, वर्ग सङ्घर्षलगायत विषयमा प्रष्ट पार्नुभएको थियो ।

महाधिवेशनका निष्कर्ष र जनताको बहुदलीय जनवादको मान्यतालाई कुल्चनेस गुटवाद, व्यक्तिवाद र सर्वसत्तावादले पार्टीको सैद्धान्तिक वैचारिक आधारलाई समाप्त गरेकाले विद्रोह गर्नुपर्ने स्थिति बनेको उहाँले उल्लेख गर्नुभयो । अध्यक्ष नेपालले समृद्ध समाजवादको दिशामा अघि बढ्न पार्टी र सरकार केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।

पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार १६ वर्षमाथिका सबैलाई सङ्गठित गर्ने र ४० वर्ष मुनिका युवालाई सङ्गठित गर्न पार्टीले विशेष ध्यान दिनेछ । पार्टीको तीन महिने कार्ययोजनालाई विशेष परीक्षाका रुपमा लिइ काम गर्न, सबैले व्यक्तिगत पार्टी जिम्मेवारी कुशलतापूर्वक पूरा गर्ने विषयमा समेत छलफल भएको थियो ।

वरिष्ठ नेता झलनाथ खनालले विधिअनुसार एमाले नचलाएकाले आफूहरुले विद्रोह गरेको उल्लेख गर्दै विद्रोह क्रान्तिकारी परिवर्तनका लागि भएको बताउनुभयो । बैठकमा पछिल्लो पटक थप भएका सदस्यहरुले आज शपथ लिनुभएको थियो । बैठक आइतबार बिहान ११ बजे पुनः बस्ने केन्द्रीय सदस्य राममाया भट्टराईले जानकारी दिनुभयो ।