न्यायालयको समस्या आफै समाधान होस् : मन्त्री बडू

0
Shares

मोतीराम तिमल्सिना काभ्रे ।

कानुन, न्याय तथा संघीय मामिला मन्त्री दिलेन्द्र बडूले न्यायालयभित्रको विवाद आफै समाधान होस भन्ने चाहेको बताउनु भएको छ । बार र बेन्चबीचको विवाद तत्कालै समाधान भई जनताले न्याय पाउने बाटो अवरुद्ध नगर्न उहाँले अनुरोध गर्नु भयो । बेथान्चोक गाउँपालिका वडा नम्बर ३ को वडा भवन र स्वास्थ्य चौकी भवनको उद्घाटन गर्दै मन्त्री बडूले मुलुकमा संघीयता आएपनि न्यायालयमा सघियता नआएको बताउनु भयो ।

सर्वोच्च, उच्च, जिल्ला अदालतमा वर्षाैँदेखि पाउन नसकेको न्यायलाई सहज बनाउन मन्त्रालयले आवश्यक कानुन निर्माणको तयारी गरेको उहाँले बताउनु भयो । मन्त्री बडूले संविधान अनुसार कानुन निर्माण हुन नसकेको कारण सरकारले निजामती विधेयक फिर्ता लिएर अध्यादेश ल्याउन लागेको बताउनु भयो ।

प्रदेश र संघीय कानुन निर्माण नभएकोले स्थानीय कानुन निर्माण हुन नसकेको बताउँदै मन्त्री बढुले द्वन्द्वका घटनाको निरूपण गर्न गठन गरेको सत्य निरूपण तथा मेलमिलाप आयोगलाई पूर्णता दिई पीडित र पिडक बिचको द्वन्द्व अन्त्य गर्नु पर्ने बताउनु भयो । यो सरकार विशेष परिस्थितिमा गठन भएकोले यसले संविधान र लोकतन्त्रको रक्षा गर्ने बताउनु भयो ।

कार्यक्रममा वडा अध्यक्ष दिल बहादुर श्रेष्ठले वडाले गरेका कार्यहरूका बारेमा जानकारी गराउँदै वडा कार्यालय निर्माणमा सहयोग पुर्‍याउनु हुने जग्गा दाता, व्यवस्थापन र सल्लाहकारहरूलाई सम्मान गर्नु भएको थियो ।

कार्यक्रममा पूर्व राज्य मन्त्री कञ्चनचन्द्र बादे, गाउँ पालिका अध्यक्ष प्रेम बहादुर तिमल्सिना, नेपाली काँग्रेस सभापति मधु आचार्य, गाउँपालिका उपाध्यक्ष सरिता लामिछाने, नेकपा एमालेका नेता वेदप्रसाद तिमल्सिना, माओवादीका नेता बोधनाथ तिमल्सिना लगायतका व्यक्तिले गाउँ पालिकाको विकास र समृद्धिका लागि सबैको पहल रहनु पर्ने बताउनु भयो । प्रदेश, जिल्ला समन्वय समिति, गाउँपालिका र वडा कार्यालयको बजेट मार्फत वडा कार्यालय र स्वास्थ्य चौकी भवन निर्माण भएको हो ।