विवाद विधिसम्मत समाधान गर्न जोड

0
Shares

काठमाडौँ, २६ कात्तिक । 

नेपाली कांग्रेसका नेताहरुले पार्टीको क्रियाशील सदस्यतालगायत बाँकी रहेका विवाद यथाशिघ्र विधिसम्मत रुपमा समाधान गर्नुपर्नेमा जोड दिनुभएको छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका पदाधिकारी एवं सदस्यहरुको आज यहाँ भएको बैठकले पार्टीको आसन्न १४औँ महाविधेशनको तयारीलगायत विषयमा समिक्षा गर्दै सो विषयमा जोड दिएको हो ।

नेताहरुले महाधिवशेनअन्तर्गत अधिवेशनहरु निष्पक्ष हुनुपर्नेमा नेतृत्वको ध्यानाकर्षण गराएको बैठकमा सहभागी नेता अर्जुननरसिंह केसीले जानकारी दिनुभयो । बैठकमा केही जिल्ला र विदेशस्थित जनसम्पर्क समितिमा क्रियाशील सदस्यता विवाद समाधान हुन नसकेको भन्दै समाधानका लागि विशेष पहल गर्ने सहमति भएको उहाँले बताउनुभयो ।

यसै गरी महाधिवेशनमा वरिष्ठ नेता पौडेल समूहबाट सभापतिका लागि जो भए पनि एकमात्र साझा उम्मेदवार बनाउनुपर्नेमा सहभागी नेताहरुले जोड दिनुभएको थियो । आइतबार बस्ने पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत हुने सन्दर्भमा पनि छलफल भएको नेता केसीले जानकारी दिनुभयो ।

बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री डा शशांक कोइराला, केन्द्रीय सदस्यहरु केसी, डा रामशरण महत, डा शेखर कोइराला, डा चन्द्र भण्डरी, धनराज गुरुङ, गगनकुमार थापा, कमला पन्त, सरिता प्रसाईलगायत सहभागी हुनुहुन्थ्यो ।