एसओएस बालग्राम काभ्रेमा सभामुख, समाचारपत्रकर्मी तिमल्सिना सम्मानित 

98
Shares

न्युज अफ नेपाल, काभ्रे । 

३५ औ एसओएस अन्तर्राष्ट्रिय दिवस २०२१ को अवसरमा एसओएस बालग्राम काभ्रेलाई सन् २०२० मा एसओएस बालग्रामको पैरवीमा उल्लेख्य योगदान दिने व्यक्तित्व तथा संस्थाहरूलाई सम्मान गरेको छ । संघीय संसदका सभामुख अग्निप्रसाद सापकोटाले सम्मानित व्यक्तिहरूलाई सम्मानपत्रद्वारा सम्मान गर्नु भएको थियो ।

नेपाल समाचारपत्र दैनिक काभ्रेका संवाददता तथा नेपाल पत्रकार महासंघ काभ्रेका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिनालाई सभामुख सापकोटाले सम्मान गर्नु भएको छ । सभामुख सापकोटाले एसओएस बालग्रामलाई योगदान दिने नेपाली सेनाका सेनानी प्रविन थापा, कान्तिपुर दैनिक बैतडीकी संवाददाता तृप्ति शाही, पत्रकार श्रीधर न्यौपाने, सुरज आचार्य, सुजना ढकाल, सुजाता कार्की, शिक्षक मुक्तिनारायण काफ्ले, एसओएस बालग्रामकी आमा पार्वती गुरुङ, कर्मचारी कमल भगत थारु, इन्द्र थापा, एसओएस बालग्रामका पहिलो कानुन संकाय अध्ययन गर्ने विद्यार्थी सत्यनारायण महर्जन र बालग्रामकी छात्रा बन्धुमाया राईलाई सम्मान गर्नु भएको थियो ।

एसओएस बालग्राम काभ्रेका निर्देशक सुरेन्द्र अमगाईको अध्यक्षतामा आयोजित कार्यक्रममा बोल्दै सभामुख अग्नि सापकोटाले आमाको माया र ममताले बालबालिकाहरूको भविष्य निर्धारण गर्ने बताउनु भयो । ‘काम सानो ठुलो हुँदैन, मुख्य कुरा कामलाई गम्भीरताका साथ आत्मसाथ गर्नु पर्छ’–सभामुख अग्नि सापकोटाले भन्नुभयो – ‘एसओएस बालग्रामले आमा तथा बाबा विहिन बालबालिकाहरूलाई अभिभावकत्व प्रदान गर्दै माया र ममता प्रदान गरेको छ । हरेक चिजको सफाइ पहिलो सर्त हो ।

लगनशील, निष्ठा र इमानदारीताका साथ गर्न एसओएस बालग्रामले सिकाएको छ ।’ एसओएस बालग्रामलाई बालबालिकाहरूको संरक्षण र हितमा काम गर्न विद्यमान कानुनका अफठ्याराहरु भए थप कानुन निर्माण गर्न पहल गर्ने बताउनु भयो । सभामुख सापकोटाले सत्य र निष्ठासँगै व्यक्तिको चरित्र र व्यवहार सही हुनु पर्ने बताउनु भयो ।

सम्मान कार्यक्रममा पत्रकार महासंघ काभ्रेका निर्वतमान अध्यक्ष मोतीराम तिमल्सिनाले एसओएस बालग्रामले समुदायमा पु¥याएको योगदानको चर्चा गर्दै सरकारका तीनै निकायले समन्वय र सहकार्य गर्न जरुरी रहेको बताउनु भयो । जसका बाबुआमा छैनन, भएर पनि टुहुरा भएका छन् त्यस्ता बालबालिकाहरूलाई अभिभावकत्व प्रदान गर्ने एसओएस बालग्रामलाई आईपर्ने कानुनी झण्झटहरुको समन्वयकारी भूमिका निभाउनु पर्ने तिमल्सिनाले बताउनु भयो ।

कान्तिपुर दैनिककी बैतडी संवाददाता तृप्ति शाहीले एसओएस बालग्रामले अभिभावक गुमाएका बच्चाहरुलाई प्रदान गरेको सेवा उत्कृष्ट रहेको बताउनु भयो । विद्यार्थी सत्यनारायण महर्जनले एसओएस बालग्रामको अभिभावकत्वले आफूलाई जिम्मेवारी महसुस गराएको बताउनु भयो ।

एसओएस बालग्रामका प्राचार्य नरेश्वर आचार्यले बालबालिकाहरूको हित र सरक्षणका लागि एसओएस बालग्रामले अन्तर्राष्ट्रिय तथा राष्ट्रिय स्तरबाट प्राप्त सहयोगको सदुपयोग गर्दै बालबालिकाहरूलाई अभिभावकत्व प्रदान गरिरहेको बताउनु भयो ।

बालग्रामका निर्देशक सुरेन्द्र अमगाईले सभामुख सापकोटा, पनौती नगरपालिका प्रमुख भीम न्यौपाने लगायतको उपस्थिति, सल्लाह सुझावले एसओएस बालग्राममा राज्यको उपस्थिति भएको महसुस गरेको बताउनु भयो ।
बालग्राममा ६ सय बालबालिका अध्ययनरत छन् । १ सय ७५ जना युवाहरू युवालयमा छन् भने नेपालमा १० वटा बालग्राम छन् । एसओएस बालग्राम काभ्रेका १४ वटा घरमा एक सय भन्दा धेरै बालबालिका छन् । कार्यक्रममा एसओएस बालग्राम युवालयका विनोदमणि भट्टराईले बालग्रामको इतिहासका बारेमा जानकारी गराउनु भएको थियो ।