पशुपतिनाथ–काशी विश्वनाथ अमृत महोत्सव मोटरसाइकल र्‍याली


न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल–भारतबीच साझा धार्मिक तथा सांस्कृतिक सम्पदाका बारेमा युवाहरूमाझ जनचेतना फैलाउने उद्देश्यले बिहीबार ‘पशुपतिनाथ–काशी विश्वनाथ अमृत महोत्सव मोटरसाइकल र्‍यालीको आयोजना गरिएको छ । वनारसको काशी विश्वनाथ मन्दिरमा पुगेर समाप्त हुने उक्त र्‍यालीमा नेपाली र भारतीय गरी ५० जनाको सहभागिता रहेको छ ।

उक्त मोटरसाइकल र्‍यालीको पशुपतिनाथ मन्दिरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले र भारतीय राजदूत विनयमोहन क्वात्राले संयुक्त रुपमा शुभारम्भ गर्नुभएको थियो । कार्यक्रममा मन्त्री आलेले भारत र नेपालबीचको सदियौं पुरानो सांस्कृतिक सम्पदा र सभ्यताका बारेमा प्रका श पार्नुका साथै मोटरसाइकल र्‍यालीका सहभागीहरूलाई यात्राको सफलताको शुभकामना दिनुभएको थियो ।

भारतीय राजदूत क्वात्राले काठमाडौं र काशीबीच विशेष सम्बन्ध रहेको र दुई देशका जनतालाई अझ निकट ल्याउन पशुपतिनाथ र काशी विश्वनाथ जस्ता प्राचीन मन्दिरले खेको भूमिकाबारे बताउनुभयो ।

मोटरसाइकल ¥याली महात्मा गान्धीले भारत स्वतन्त्र संग्रामको बेला चम्पारण सत्याग्रह आरम्भ गरेको स्थान मोतिहारी, बुद्धले पहिलो प्रवचन दिएको स्थल सारनाथ, भारत र नेपालका धर्मावलम्बीहरूको एक प्रख्यात धार्मिक स्थल गोरखनाथ मठजस्ता विभिन्न ऐतिहासिक स्थल हुँदै अघि बढ्ने बताइएको छ ।

¥यालीका सहभागीहरूले कार्तिक २७ गते वनारसमा अवस्थित काशी विश्वनाथ मन्दिरको भ्रमण गरी सरसफाई एवं स्वच्छताको सन्देश फैलाउन दशाश्र्वमेध घाटमा पूजा गरी स्वच्छता श्रमदान अर्पण गर्ने बताइएको छ ।

स्वतन्त्र भारतको ७५ वर्ष र भारतीय जनताको उल्लेखनीय प्रगतिको इतिहासको स्मरण तथा उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘आजादीका अमृत महोत्सव’ अन्तर्गत काठमाडौंस्थित भारतीइ दुताबासले रोयल इनफिल्ड काठमाडौंसँगको सहकार्यमा उक्त मोटरसाइकल र्‍यालीको आयोजना गरेको हो ।