प्रचण्ड एमालेलाई नसकेपछि कांग्रेसकाे टाङ मुनी छिरे : एमाले सचिव बिष्ट


पुष्कर बुढाथोकी, भक्तपुर ।

नेकपा एमालेका केन्द्रीय सचिव तथा पूर्वमन्त्री गोकर्ण विष्टले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्थिरताको खेलाडी भएको बताउनुभएको छ । नेकपा एमाले सूर्य विनायक नगरपालिका वडा नं.५ कमिटीले आज कटुन्जेमा आयोजना गरेको विजय दशमी, दीपावली, नेपाल सम्वत, छठलगातयका पर्वहरूको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सचिव विष्टले एमालेलाई सक्ने रणनीतिमा सफल नभएपछि गठबन्धनको नाममा राजनीति गरिरहेको बताउनुभयो ।

अहिलेकै गठबन्धन यही अवस्थामा रह्यो भने प्रचण्डले कांग्रेसको चुनाव चिन्ह रुखको पातलाई समेत हल्लाएर झारिदिई नाङ्गो रुख बनाउने निश्चित रहेको बताउनुभयो । उहाँले भन्नुभयो,“राजनीतिक अस्थिरताका खेलाडी प्रचण्डको इतिहास नै जहाँ गयो त्यही समाप्त पार्ने मात्र हो । मुलुकमा राजनीतिक स्थिरता ल्याउने हैन, आफ्नो स्वार्थको लागि सती जाने पहिचान प्रचण्डको बनेको छ । ”

विगतमा एमालेको बैसाखी टेकी आफ्नो राजनीतिक भविष्यलाई थाम्ने प्रचण्ड  अनेक बहाना तथा फुटको मानसिकता बोकी र बोकाई एमाले सक्ने रणनीतिमा प्रचण्ड थिए बिष्टले भन्नुभयो, तर एमालेलाई सक्ने रणनीतिमा सफल नभएपछि गठबन्धनको नाममा राजनीति गर्दै हुनुहुन्छ । वर्तमान अवस्थामा गठबन्धन कायम रहे कांग्रेसको चुनाव चिन्ह रुखलाई हल्लाएर पात समेत झारेर नाङ्गै बनाइदिने मात्र छैनन् कांग्रेसलाई समेत कमजोर पार्ने छन् ।

प्रचण्डको इतिहास नै जहाँ छोयो त्यसलाई समाप्त पार्ने भएको उहाँले दाबी गर्नुभयो । विगतमा प्रचण्डले एमालेको बैसाखी टेकेर राजनीतिक बिडो थामेको उल्लेख गर्दै पूर्वमन्त्री विष्टले एमालेलाई समाप्त पारी आफूले हाली मुहाली गर्ने सपना चकनाचुर भएपछि अहिले आफ्नो सपना पुरा गर्न र कांग्रेस सक्न कांग्रेसकै टाङ मुनी छिरेको आरोप लगाउनुभयो ।

अबको दुई दशक एमालेलाई कसैले आँखा नलगाउन चेतावनी दिँदै सचिव विष्टले आगामी निर्वाचनमा एमालेले एक्लै सानदार बहुमतका साथ मुलुकको नेतृत्व गर्ने दाबी गर्नुभयो । माधव नेपाल तथा झालनाथ खनाल एमालेबाट विभाजन भई समाजवादी गठन गरे पनि जनतामा कुनै फुटको असर नभएको उल्लेख गर्दै उहाँले माधवले एमाले छोडेसँगै अहिले एमालेमा गुट समाप्त भएको बताउनुभयो ।

एमाले तथा केपी ओली नेतृत्वको सरकारको पालामा भएका कामहरू देखेर त्यसलाई असफल बनाउन गठबन्धनका नेताहरू सपनामा समेत बर्बराउने गरेको आरोप समेत उहाँले लगाउनुभयो । एमाले र केपी ओली नेतृत्वको सरकारले ऐतिहासिक कामहरू गरेको उल्लेख गर्दै उहाँले त्यसको ज्वलन्त उदाहरणको लागि भक्तपुर हेरे पुग्ने समेत बताउनुभयो ।

एमाले केन्द्रीय सदस्य तथा चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्रले आगामी दिनमा एमालेको तागत देखाउने बताउनुभयो ।एमाले केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले कांग्रेसका नेताले आफ्नो शिर्ष नेतृत्वसँगको पहुँचलाई समेत सदुपयोग गर्न नसकेर भक्तपुरको विकासलाई दशकौँसम्म पछि धकेलेको आरोप लगाउनुभयो ।

कार्यक्रममा एमाले जिल्ला अध्यक्ष बचन देउजा,सुर्यबिनायक नगरपालिकाका प्रमुख वासुदेव थापा,पूर्व एमाले जिल्ला अध्यक्ष राजेन्द्र राजथला,नेता निर्मल भट्टराई लगायतले एमाले विकास, समृद्धि तथा परिवर्तनको संवाहक भएको बताउनुभयो