बेनी बचत सहकारीको २०औँ वार्षिक साधारणसभा

0
Shares

प्रताप बानियाँ, म्याग्दी ।

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित बेनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बुधबार २०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । गएको आर्थिक वर्षमा कुल दुई करोड ७५ लाख पाँच हजार तीन सय रुपैयाँ शेयर पुँजी पु¥याएको संस्थाले ४५ करोड ५४ लाख ३२ हजार पाँच सय २३ बचत तथा निक्षेप सङ्कलन र ३० करोड ९५ लाख १४ हजार आठ सय ४२ रुपैयाँ लगानी गरेको जनाएको छ ।

साधारणसभाको अवसरमा संस्थाले ज्येष्ठ नागरिकहरु मीनबहादुर कार्की, अंगद श्रेष्ठ, अबिरकुमार श्रेष्ठ, बेनबहादुर शाही, भेजबहादुर रावल र दलप्रसाद श्रेष्ठलाई दोसल्ला ओढाएर नगदसहित सम्मान गरेको छ । यसैगरी उत्कृष्ट कारोबारतर्फ नमस्ते कृषि सहकारी संस्था लिमिटेड र यजनलाल शाक्यलाई दोसल्ला ओढाएर मायाको चिनो प्रदान गरी सम्मान गरिएको छ भने उत्कृष्ट कर्मचारीतर्फ सहकारीका प्रबन्धक सज्जन शाक्यलाई सम्मानपत्र, दोसल्ला र नगदसहित सम्मान गरिएको थियो ।

साधारणसभामा संस्थाका अध्यक्ष रमेश गिरीले अध्यक्षको प्रतिवेदन, कोषाध्यक्ष कृष्णप्रसाद श्रेष्ठले आर्थिक र लेखा समितिको तर्फदेखि लेखा प्रतिवेदन संस्थाका प्रबन्धक सज्जन शाक्यले प्रस्तुत गर्नुभएको थियो । साधारणसभाको संस्थाका पूर्व अध्यक्ष शिवकुमार श्रेष्ठ र उत्कृष्ट कारोबारकर्ता यजनलाल शाक्यले संयुक्त रूपमा दीप प्रज्वलन गरी उद्घाटन गर्नुभयो ।

कार्यक्रममा संस्थाका भूपू अध्यक्ष टंक हमाल, नमस्ते कृषि सहकारी संस्था लिमिटेडका शेयर सदस्य हरिकृष्ण गौतम, सम्मानित व्यक्ति दलप्रसाद श्रेष्ठ र शेयर सदस्य टेकबहादुर रावलले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम संस्थाका अध्यक्ष रमेश गिरीको अध्यक्षता, उपाध्यक्ष सञ्जयकुमार श्रेष्ठको स्वागत र सचिव माधवप्रसाद रेग्मीको सञ्चालनमा सम्पन्न भएको थियो । ‘आर्थिक समृद्धि, हाम्रो अभियान’ भन्ने मूल नारासहित २०५८ सालमा स्थापना भएको सहकारीले कृषि, पशुपालन तथा उत्पादनमूलक व्यवसायमा जोड दिनुका साथै लगानी गरिएको जनाएको छ ।