गोकुलेश्वर विमानस्थल चाडै सञ्चालन हुन्छ : मन्त्री आले


विमल विष्ट, डोटी ।

मन्त्री भएदेखि सुदूरपश्चिमका बन्द रहेका विमानस्थलमा जहाज चलाउन निकै लागि पर्नु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले फेरी अर्को कदम चाल्नु भएको छ । लामो समयदेखि स्तरोन्नति नभएर बन्द अवस्थामा रहेको दार्चुलाको गोकुलेश्वर विमानस्थल चाडै सञ्चालनमा ल्याइने गरी काम सुरु गराउनु भएको छ ।

जहाज नभएर सुदूरपश्चिमका नागरिकहरूलाई असहज भइरहेका बेला मन्त्री आलेले बन्द रहेका सबै विमानस्थलहरूमा जहाज चलाउन निकै लागि पर्नु भएको छ । यसै क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले निर्माणाधीन दार्चुलाको गोकुलेश्वर विमानस्थल चाडै सञ्चालनमा ल्याइने बताउनु भएको छ ।

आज बुधवार नेकपा एकीकृत समाजवादी पार्टीको जिल्ला पार्टी घोषणा कार्यक्रम सहित उक्त निर्माणाधीन विमानस्थलको अनुगमनका लागि त्यहाँ पुग्नु भएका मन्त्री आलेले गोकुलेश्वर विमानस्थलमा चाडै विमान सञ्चालन गर्नका लागि काम अगाडी बढेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “दार्चुलाको गोकुले सहित यहाँका पहाडी जिल्लाका सबै विमानस्थलमा नियमित जहाज चलाउने गरी काम अगाडी बढाएको छु, चाडै नै यहाँका नागरिकले जहाज चढ्न पाउने छन् ।” सोही क्रममा मन्त्री आलेले निर्माणाधीन गोकुलेश्वर विमानस्थलका लागि बजेटको कुनै कमी हुन नदिने आश्वासन समेत दिनुभयो ।

एयरपोर्टको टर्मिनल भवन, ट्याक्सी पार्किङ लगायतका सबै भौतिक पूर्वाधार निर्माणको लागि बजेट विनियोजन गरिने बताउनु हुँदै मन्त्री आलेले थप भन्नुभयो, “विमानस्थलका लागि पर्याप्त बजेट विनियोजन गर्छु, निर्माण कार्य चाँडाे सक्न नागरिको निगरानी पनि जरुरी छ ।”

विमानस्थल निर्माण गरी चाड जहाज सञ्चालन गर्ने मन्त्री आलेको आश्वासन पछि त्यहाँका नागरिकहरू निकै खुसी भएका छन् । साथै मन्त्री आलेले राष्ट्रकै सातौँ धाम मालिकार्जुन धामका लागि क्रमागत रूपमा चाहिने जति बजेट राख्ने समेत बताउनुभयो ।