मुक्तकमैया र कमलरीको व्यवस्थापनमा सरकार प्रतिबद्ध छ : मन्त्री श्रेष्ठ


काठमाडौँ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले मुक्तकमैया र कमलरीको व्यवस्थापनका लागि संविधानमा भएको व्यवस्थालाई कार्यान्वयन गर्न आफू प्रतिबद्ध रहेको बताउनुभएको छ ।

मुक्तकमैया, कमलरी र सम्बद्ध सरोकारवालासँग आज मन्त्रालयमा भएको छलफलमा उहाँले मुक्तकमैया र कमलरीको समस्यालाई प्राथमिकीकरण गरेर तत्कालीन र दीर्घकालीन रुपमा समस्या समाधान गर्ने गरी अगाडि बढ्ने बताउनुभयो ।

“कमैया र कमलरी मुक्त घोषणा भएर पनि उनीहरुको व्यवस्थापन हुन नसक्दा झनै समस्यामा रहनुपरेको छ, ति समस्यालाई प्राथमिकीकरण गरेर तत्काल हल गर्न सकिने विषय तत्कालै र विस्तारै गर्दा हुने कुराहरु विस्तारै हल गरेर समस्यालाई दीर्घकालीन रुपमा समाधान गर्ने गरी अगाडि बढ्नुपर्ने छ”, उहाँले भन्नुभयो ।

छलफलमा बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र दाङबाट आएका कमैया र कमलरीका प्रतिनिधिले कमैया र कमलरीको व्यवस्थापन लामो समयसम्म हुन नसक्दा समस्या बढ्दै गइरहेको र कमलरी थप पीडामा रहेको बताएका थिए ।

कमलरीको समस्या समाधान नहँुदा, बालविवाहको समस्या बढेको, कमलरीलाई शिक्षाका लागि पर्याप्तरुपमा छात्रावृत्ति नहुँदाबीचमा नै पढाइ छाड्नुपर्ने अवस्था आएको, होस्टेलबाट निस्कने उमेरका कमलरी जग्गा र घर नभएकाले अब कहाँ जाने भन्ने अवस्थामा रहेको उनीहरुको भनाइ थियो ।

यसैबीच आजै मन्त्री श्रेष्ठले सुकुम्बासीसँग सम्बद्ध पक्षसँग पनि छलफल गर्नुभएको छ । सो क्रममा उहाँले महोत्तरीका रामगोपालपुरको गाउँब्लकमा रहेका लालपुर्जाविहीन नागरिकलाई लालपुर्जा वितरण गरिएको र अब देशैभरमा गाउँब्लकमा रहेका समस्या समाधान गर्दै लालपुर्जा वितरणको काम अगाडि बढाइने जानकारी दिनुभयो ।