निर्वाचन प्रणाली नफेरे मुलुकमा पैसावाला, माफिया र ठेकेदारको हालिमुहाली हुन्छ : अध्यक्ष यादव


यमलाल भुसाल, बुटवल ।

जनता समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले अहिलेको निर्वाचन प्रणाली गलत भएको बताउनु भएको छ । उहाँले खिचडी जस्तो निर्वाचन प्रणाली अत्यन्तै महंगो छ, विश्वका ७१ वटा मुलुकमा रहेको समानुपातिक निर्वाचन प्रणाली लागू गर्नुपर्नेमा जोड दिनु भयो ।

जसपा रुपन्देही क्षेत्र नम्बर १ ले सोमबार रोहिणी गाउँपालिका–३ धकधईमा आयोजना गरेको छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले खर्चिलो निर्वाचन प्रणालीका कारण आम जनतालाई निर्वाचनमा उम्मेदवार बन्न समस्या रहेको बताउनु भयो ।

अहिलेको निर्वाचन प्रणालीले नेपाल जस्तो गरीब मुलुकमा पैसावाला, माफिया, ठेकेदारको प्रतिनिधित्व हुन्छ, जनतालाई केवल भोटर मात्र बनाइएको छ, अध्यक्ष यादवले थप्नु भयो । ,सांसद खरीदविक्री भइरहेको छ, यो दोष नेताको भन्दापनि प्रणालीको हो, उहाँले भन्नु भयो ।

न्याय पाउन समेत खर्चिलो भएकाले न्यायप्रणाली पनि सुधार गर्नुपर्ने उहाँको भनाइ छ । नेता यादवले नेपाली नागरिकलाई नागरिकताबिहीन बनाउन नहुने बताउनु भयो । उहाँले नागरिकता विधेयक संसदमा टेबुल छ, नेपालमा आमा बुवासंग नागरिकता छ, तर उनीहरुको सन्तानसंग नागरिकता छैन्,यो विडम्बनाको कुरा हो ।

जन्मसिद्ध नागरिकता पाएर आमा बुवा नागरिक हुने तर सन्तान कसरी अनागरिक हुने भन्दै प्रश्न गर्नु भयो । संंघीयता विरोधीले नै संविधान बनाएकाले संविधानको संशोधन अहिलेको आवश्यकता रहेको उहाँको आरोप छ । अहिलेको संविधान मुलुकको सातौं संविधान भएको र संविधान संशोधनतर्फ अगाडी नबढे जनताले आठौं संविधान बनाउने उहाँले चेतावनी दिनु भयो ।