कसैसँग मिलेर चुनाव लड्ने कांग्रेसको स्वभाव होइन : नेता थापा


बुद्ध नेपाली, सिन्धुली । 

नेपाली कांग्रेसका युवा नेता गगन थापाले आगामी निर्वाचनमा कांग्रेस एक्लैले चुनाव लड्ने बताउनुभएको छ । आमाको निधन भएपछि कृयापुत्री बसीरहेका नेपाली काग्रेस सिन्धुलीका सभापति उज्ज्वल बराललाई भेट्न बरालको निवास कमलामाई नगरपालिका ११ रानीबास आइपुगेका नेता थापाले सोमवार यस्तो बताउनुभएको हो ।

उहाँले कांग्रेसको स्वभाग नै एकलै चुनाव लड्ने भएकाले कांग्रेसले आगामी चुनाव कोहीसँग मिलेर लड्न नहुने बताउनुभएको हो । थापाले भन्नुभयो, ‘कोहीसँग मिलेर चुनाव लड्ने कांग्रेसको स्वभाव नै होइन, रूख बाहेक अन्यत्र कांग्रेसले भोट हाल्दैन।’

काग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले कायम गठबन्धन नै आगामी चुनावसम्म जाने संकेत गरिरहेका बेला थापाले यस्तो प्रतिक्रिया दिनुभएको छ ।

सरकारले आगामी चैत/वैशाखमा स्थानीय तहको चुनाव र मंसिरसम्म संघीय चुनाव गर्नुपर्ने बताउनुभयो । आगामी चुनावमा कांग्रेसलाई पहिलो पार्टी बनाउने हो भने गएको चुनावमा मतदान गर्ने मतदातालाई जोगाउँदै थप नयाँ मतदाता आकर्षित गर्नसक्नुपर्ने थापाले बताउनुभयो ।

उहाँले गत निर्वाचनमा माओवादीसँग चितवनमा गठबन्धन गर्दा त्यसको नकारात्मक प्रभाव परेको समेत बताउनुभयो । कांग्रेसको १४ औँ महाधिवेशन मंसिर २४ देखि २६ सम्म हुने र अब महाधिवेशनको मिति नसर्ने उहाँको दाबी छ । उहाँले पार्टी नेतृत्व चयन गर्दा सक्षमलाई मात्रै नेतृत्वमा पु-याउन समेत आग्रह गर्नुभयो ।