घाइते पैदलयात्रीको परिचय नखुल्दा उपचारमा समस्या

0
Shares

तनहुँ ।

कात्तिक १७ गते बुधबार बिहान साढे ७ बजे बसको ठक्करबाट घाइते भएका पैदलयात्रीको परिचय खुल्न नसक्दा उपचारका लागि समस्या भएको प्रहरीले जनाएको छ ।

पृथ्वी राजमार्गअन्तर्गत तनहुँ व्यास नगरपालिका वडा नं १ तालघरेमा अचेत अवस्थामा भेटिएका ती पुरुषको अहिले पोखरास्थित मणिपाल अस्पतालको आइसियु कक्षमा उपचार भइरहेको छ । डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना ६ ख ५०३१ नं को बसले पैदल यात्रीलाई ठक्कर दिँदा उनी सख्त घाइते भएका थिए ।

उनी अचेत रहेकाले निजको हालसम्म पनि नामथर खुल्न सकेको छैन । यसका कारण उपचारमा पनि समस्या आएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिनुभयो ।

अन्दाजी वर्ष ३५–४० को देखिने ती पुरुषको अनुहार र टाउकामा गम्भीर चोट लागेको छ । तिमिल्सेनाले भन्नुभयो “हामीले आफ्नो क्षेत्रबाट घाइतेका आफन्तजनको खोजी गरिरहेका छौँ तर भेटाउन सकिरहेका छैनौँ ।”

घाइते अवस्थामा सडकमा भेटिएका उनलाई प्रहरीको सहयोगमा तत्काल रत्नहरि अस्पताल दमौलीमा ल्याएर उपचार गराइएकोे थियो । स्वास्थ्य गम्भीर हुदै गएपछि सो अस्पतालमा मात्र उपचार सम्भव नभएकाले उनलाई पोखरा पठाइएको थियो ।