कात्तिक २५ देखि मंसिर ९ गतेसम्म मूल जनगणना गरिने, तयारी पूरा


बैतडी ।

राष्ट्रिय जनगणना २०७८ अन्तर्गत यस जिल्लामा पनि यही कात्तिक २५ गतेदेखि मङ्सिर ९ गतेसम्म मूल गणना हुने भएको छ । यसका लागि तयारी पूरा भएको जिल्ला जनगणना अधिकारी सुरेन्द्रप्रसाद पन्तले जानकारी दिनुभयो ।

तीन सय १५ गणकलाई तालिम दिएर कात्तिक २५ गतेदेखि काम गर्ने गरी आवश्यक सामग्रीसहित कार्यक्षेत्रमा खटाइसकिएको र उनीहरुसँगै ८० सुपरीपेक्षक पनि सहभागी हुने भएका छन् । उहाँले भन्नुभयो, “गणकलाई जनगणनाका बेला गर्नुपर्ने कार्यका विषयमा कात्तिक १३ देखि १६ सम्म तालिम दिइएको थियो ।” उहाँले थप्नुभयो, “कात्तिक २३ र २४ गते सुपरीपेक्षकले गणकलाई कार्यक्षेत्र देखाउनेछन्, कोही नछुट्ने गरी गणक खटाउनेछौँ ।”

चार दिनको तालिममा गणकहरूलाई मूल गणनाका लागि गर्नुपर्ने कामका बारेमा जानकारी दिइएको र जनगणनालाई प्रभावकारी बनाउन सबै तयारी पूरा भएको जनाइएको छ । छनोट भएका ३१५ गणकमध्ये दशरथचन्द, पाटन, मेलौली र पुर्चौंडी नगरपालिकामा क्रमशः ६५,३६, २७ र ४० जना खटिएका छन् ।

यस्तै सुर्नयामा २५, दोगडाकेदारमा२८, डिलाशैनीमा २८, सिगासमा २६ शिवनाथ तथा पञ्चेश्वर गाउँपालिकामा २१÷२१ गणक खटिएका छन् । गणकले प्रश्नावलीसहित घरघरमै गएर परिवारमूलीबाट सूचना सङ्कलन गर्ने बताइएको छ । असीवटा प्रश्नसहित गणक घरघरमा पुग्ने भएकाले सही सूचना दिन पनि सबैसँग आग्रह गरिएको छ ।

जनगणनालाई प्रभावकारी बनाउनका लागि जिल्ला जनगणना कार्यालयका साथै जिल्लाका चार ठाउँमा स्थानीय जनगणना कार्यालयसमेत सञ्चालनमा ल्याइएका छन् ।

भदौ ३० देखि असोज १८ गतेसम्म सञ्चालन भएको राष्ट्रिय जनगणनाको पहिलो चरणअन्तर्गत सुपरीवेक्षक खटाएर घरपरिवारको सूचीकरण गरिएको थियो । पहिलो चरणमा ४९ हजार ७६१ परिवार सूचीकृत भएका छन् ।