हार्ट क्लिनिकको महालक्ष्मी नगर इकाई स्थापना


न्युज अफ नेपाल, ललितपुर।

नेपाल हद्यरोग निवारण प्रतिष्ठान (हार्ट क्लिनिक) ललितपुरको महालक्ष्मी नगर ईकाई स्थापना गरिएको छ ।प्रतिष्ठानको पहिलो इकाईको रुपमा ललितपुरको महालक्ष्मी नगरपालिका– ८ लुभूमा सो इकाई स्थापना गरिएको हो ।

सो क्लिनिकबाट साताको दुई पटक सोमबार र बिहीबार निशुल्क मुटुको जाँच गरिने छ । क्लिनिकमा वरिष्ठ मु्टु रोग विशेषज्ञ डा। सुमन्त वञ्जाराले स्वास्थ्य जाँच गर्नुहुनेछ ।सो इकाईको नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले उद्घाटन गर्दै स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउन नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सो अवसरमा एक महिनासम्म स्वास्थ्य जाँचका लागि सहयोगी बहुउद्देश्यीय सहकारी संस्थाले सहयोग गर्ने घोषणा गरेको थियो । सो क्लिनिकमा ज्येष्ठ नागरिक र बालबालिकाको उपचार र औषधी वितरणको लागि प्रतिष्ठानका केन्द्रीय महासचिव बालगोविन्द विष्टले आफ्ना माता र पिताको नाउँमा २ लाख रुपैयाँ सहयोग स्वरुप प्रदान गर्नुभयो ।

ललितपुर शाखाका सभापति बालकृष्ण तुलाधरले प्रतिष्ठानको तर्फबाट १ लाख रुपैयाँ सो क्लिनिकलाई प्रदान गर्नुभयो ।सो रकम जेष्ठ नागरीक,वालवालिका तथा विपन्न वर्गको स्वास्थ्य जाँचका लागि खर्च गरिने इकाईका संयोजक इन्जिनियर रामबहादुर श्रेष्ठले जानकारी दिनुभयो । सो अवसरमा वडाअध्यक्ष विश्वराज श्रेष्ठले वडाबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।