टेबलटेनिस तालिम सम्पन्न


नेपाल समाचारपत्र, काठमाडौं  । 

अन्तर्राष्ट्रिय टेबलटेनिस महासंघ (आईटीटीएफ) को सहयोगमा अखिल नेपाल टेबलटेनिस संघद्वारा आयोजित महिला जुनियर टेबलटेनिस तालिम सम्पन्न भएको छ ।

लैगिक जनचेतना, भविष्यमा महिला नेतृत्वका लागि प्रेरित गर्नेलगायतका उद्देश्यसहित आईटीटीएफको पाइलट प्रोजेक्ट ‘माई जेन्डर, माइ स्ट्रेन्थ’अन्तर्गत सञ्चालित तालिम काठमाडौं र विराटनगरमा सञ्चालन गरिएको थियो । दुवैमा समान २६–२६ खेलाडीको सहभागिता रहेको टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्यले जनाएका छन् ।

विश्वका १५ राष्ट्रमा यस प्रकारको तालिम पहिलोपटक आयोजना गरिएको कार्यक्रम संयोजक टेबलटेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान बज्राचार्यले जानकारी गराए । विराटनगरमा विकेन थापालाई जिम्मेवारी दिइएको थियो ।काठमाडौंमा सन्ध्या शाक्य, मुना बासुकला, तेजेन्द्रसिंह महरा, रीता प्रजापति, सुलोचना सिजाख्वाः, नरेश रावल, गीता शाह र नविता श्रेष्ठले खेललगायत विविध पक्षबारे सहभागीलाई प्रशिक्षण दिएका थिए ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको सात दिने तालिममा सहभागीहरूको प्रतियोगितासमेत आयोजना गरिएको थियो ।