रियल र सेभिया विजयी


मेड्रिड, (एजेन्सी) । 

स्पेनिस ला लिगामा रियल मेड्रिड र सेभिया विजयी भएका छन् ।शनिबार राति भएको खेलमा उपाधि दौडमा रहेको रियलले १० खेलाडीमा समेटिएको इल्चेलाई उसैको मैदानमा २–१ गोलले हरायो ।

त्यस्तै, अर्को खेलमा सेभियाले पनि ओसासुनालाई २–० गोलले पराजित ग¥यो । रियलको जितमा दुवै गोल भिनिसियस जुनियरले गरे । इल्चेका पेरे मिल्लाले सान्त्वना गोल फर्काएका थिए । भिनिसियसले २२औं मिनेटमा लुका मोड्रिचको पासमा गोल गरेका थिए । ७३औं मिनेटमा भिनिसियसले व्यक्तिगत दोस्रो गोल गर्दै रियलको अग्रता दोब्बर बनाए ।

जारी लिगमा उच्च लयमा रहेका भिनिसियसको यो व्यक्तिगत सातौं गोल हो । उनी लिगमा सर्वाधिक गोलकर्ताको दोस्रो स्थानमा छन् । शीर्ष स्थानमा रहेका रियलकै कप्तान करिम बेन्जेमाले नौ गोल गरेका छन् । त्यसअघि, ६३औं मिनेटमा राउल गुटी रातो कार्ड पाउँदै बाहिरिएपछि इल्चे १० खेलाडीमा समेटिएको थियो । तैपनि, इल्चेले ८६औं मिनेटमा गोल फर्कायो । पेरे मिल्लाले डारियो बेनेडेट्टोको पासमा गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने प्रयास गरे । त्यसपछि, थप गोल नहुँदा रियल विजयी भयो । जितसँगै लिगका ११ खेलमध्ये सातमा जित, तीन बराबरी र एक हार खेपेको रियलको २४ अंक छ ।

त्यस्तै, अर्को खेलमा सेभियालाई जिताउन डिएगो कार्लोस र लुकास ओकम्पोसले गोल गरे । कार्लोसले ४०औं मिनेटमा इभान राकिटिकको पासमा गोल गरेका थिए । लुकासले ६०औं मिनेटमा गोल गर्दै सेभियाको अग्रता दोब्बर बनाए । जितसँगै सेभियाको २४ अंक भएको छ । रियलसँग पराजित इल्चेको १० अंक रहेको छ । सेभियासँग हारेको ओसासुनाको १९ अंक छ ।

घरेलु मैदानमा भएको अर्को खेलमा क्याटलान क्लब बार्सिलोना डिपोर्टिभो अलाभेससँग १–१ गोलको बराबरीमा रोकियो । बार्सिलोनाका लागि मेम्फिस डिपाएले गोल गरे । अलाभेसका लुइस रियोजाले बराबरी गोल फर्काए । प्रतिस्पर्धात्मक खेलमा दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । डिपाएले ४९औं मिनेटमा जोर्डी अल्वाको पासमा गोल गरेका थिए । तर, बार्सिलोनाको अग्रता लामो समय टिकेन । ५२औं मिनेटमा लुइसले जोसेलुको पासमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । ८० प्रतिशत बल पोसेसन राखे पनि बार्सिलोनाले थप गोल गर्न नसक्दा बराबरीमा चित्त बुझायो ।

अन्तरिम प्रशिक्षक सेर्जी बार्जुआनको पहिलो खेलमा बार्सिलोनाले शुरुवाती अग्रता लिए पनि जोगाउन सकेन । अघिल्लो खेलमा रायो भालेकानोसँग १–० गोलले पराजित भएपछि बार्सिलोनाले मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानलाई बर्खास्त गरेको थियो । अलाभेसका लुइस रियोजा ‘म्यान अफ दि म्याच’ भए । बराबरीसँगै बार्सिलोनाको ११ खेलबाट १६ अंक भएको छ । अलाभेसको भने १० अंक छ । त्यस्तै, अर्को खेलमा भ्यालेन्सियाले भिल्ला रियललाई २–० गोलले पराजित ग-यो ।