युनाइटेडद्वारा टोटेनह्याम पराजित


लन्डन, (एजेन्सी) । 

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडद्वारा टोटनह्याम हट्सपर पराजित भएको छ ।शनिबार राति भएको लिगको १०औं चरणको खेलमा युनाइटेडले ह्यारी केन र सन हेङ मिनको टिम टोटनह्यामलाई उसैको घरेलु मैदानमा ३–० गोलअन्तरले स्तब्ध बनायो ।

केही दिनअघि लिभरपुलसँग आफ्नो घरेलु मैदानमा ५–० को लज्जास्पद हार भोगेको युनाइटेड शनिबार राति उत्कृष्ट नतिजाका साथ जितको बाटोमा फर्किएको हो ।टोटनह्याम र युनाइटेड यसअघिको आ–आफ्नो खेलमा पराजित भएर शनिबार टोटनह्याम हट्स्परको स्टेडियममा भिड्दा युनाइटेडले अघिल्लो खेलको तुलनामा प्रदर्शन सुधार गर्दै नतिजा पनि आफ्नो पक्षमा लिन सफल भयो । टोटनह्यामको घरमा युनाइटेडलाई जिताउन सुपरस्टार क्रिस्टियानो रोनाल्डोले प्रेरणादायी प्रदर्शन गरे । रोनाल्डोले टिमका लागि एक गोल र एक असिस्टसमेत प्रदान गरेका थिए ।

युनाइटेडले खेलको ३९औं मिनेटमा रोनाल्डोको दर्शनीय गोलबाट अग्रता लिएको थियो । ब्रुनो फर्नान्डेजको पासमा पोस्टनजिक विपक्षी टिमका डिफेन्डरले घेरिएर रहेका रोनाल्डोले देब्रे खुट्टाले वान टच भली सटमा सानदार गोल गरे । उनको एक टचको शक्तिशाली सटले सोझै जाली चुमेको थियो । रोनाल्डोको उक्त प्रहारलाई टोटनह्यामका गोलकिपर ह्युगो लोरिसले रोक्नका लागि प्रयाससमेत गर्न पाएनन् ।
त्यसपछि, युनाइटेडले खेलको ६४औं मिनेटमा दोस्रो गोल ग-यो ।

यसपटक फर्नान्डेजको मुभमा रोनाल्डोले पाएको बल कठिन स्थितिबाट विपक्षी टिमका तीन जना खेलाडीलाई छलाउँदै लो सटमा दिएको पासमा इडिन्सन काभानीले सबनदार फिनिसिङमा गोल गरेपछि युनाइटेड जिततर्फ अघि बढेको थियो । त्यसपछि रोनाल्डोको स्थानमा ७१औं मिनेटमा मैदान छिरेका मार्कुस रासफोर्डले खेलको ८६औं स्थानमा अर्को सानदार गोल गरेपछि खेल युनाइटेडले ३–० ले जित्यो । उक्त खेलमा रोनाल्डोले गरेको अर्को सानदार गोलले मान्यता पाएन ।

पहिलो गोल गरेको केहीबेरमै उनले डी–बक्स लाइनबाट अर्को खतरनाक गोल गरेका थिए । तर, भीएआरले त्यसलाई अफसाइड भनेपछि उनको गोल गणना भएन । टिमको जितमा नायक बनेका रोनाल्डो खेलको ‘म्यान अफ् द म्याच’ चुनिए । शनिबारको गोलसँगै रोनाल्डोले प्रिमियर लिगमा ७ खेलबाट ४ गोल र एक असिस्ट गरेका छन् । उनले समग्रमा १० खेलबाट ७ गोल र दुई गोलमा असिस्ट गरेका छन् ।
युनाइटेडको यो जितले प्रशिक्षक ओले गुनरलाई तत्कालै बर्खास्त हुनबाट पनि बचाएको छ ।

यसअघि, आफ्नै घरमा लिभरपुलसँग खराब हार व्यहोरेपछि गुनरको पद धरापमा परेको थियो । त्यसपछि क्लबले उनलाई तत्कालै बर्खास्त गर्न छलफल गरे पनि थप एक खेलमा मौका दिनु सम्मानजनक हुने ठानेपछि गुनरले शनिबारको खेलमा पनि टोली सम्हालेका थिए ।
यदि, शनिबारको खेल नजितेको भए गुनर केही घन्टाकै बीचमा बिदा हुने पक्का थियो । तर, टोटनह्यामविरुद्धको जितले गुनरलाई तत्कालका लागि प्रशिक्षक पदमा सुरक्षित गरेको छ । यो जितपछि युनाइटेडको खातामा १० खेलपछि १७ अंक भएको छ । पराजित टोटनह्यामको भने १५ अंक रहेको छ ।