लक्ष्मी ब्याडमिन्टनमा च्याम्पियन


नेपाल समाचारपत्र, काठमाडौं । 

लक्ष्मीप्रसाद महर्जन बुढानीलकण्ठ नगरपालिका वडा १२ स्तरीय ब्याडमिन्टन प्रतियोगिताको पुरुष सिंगल्समा आइतबार च्याम्पियन बनेका छन् ।

कपनको फैकास्थित हिमाल ब्याडमिन्टन हलमा भएको प्रतियोगिताको फाइनलमा लक्ष्मीले सविन तिवारीलाई २१–१८ र २१–१९ को सोझो सेटमा पराजित गरे । लक्ष्मीले ८ हजार तथा सविनले ४ हजार नगद पुरस्कारसहित ट्रफी, पदक तथा प्रमाण पत्र प्राप्त गरे ।

नागेश्वरी युवा क्लबद्वारा आयोजित प्रतियोगिताको पुरुष डबल्समा रामचन्द्र श्रेष्ठ र राजेश मल्ल ठकुरीको जोडी पहिलो भए । फाइनलमा उक्त जोडीले राजेन्द्र मगर र भरत थापाको जोडीलाई २–० को सीधा सेटमा हराए ।

विजेताले १५ हजार तथा उपविजेताले १० हजार नगद पुरस्कार पाए । दीपक क्षेत्री उत्कृष्ट खेलाडी घोषित भए । दुईदिने प्रतियोगिताको सिंगल्समा १० खेलाडीले प्रतिस्पर्धा गरेका थिए भने डबल्समा १७ जोडी सहभागी थिए ।