सुजिता मिस युनिभर्स नेपाल


मिस युनिभर्स नेपाल २०२१ को उपाधि सुजिता बस्नेत जितेकी छन्। शनिबार साँझ राजधानीको होटल याक एन्ड यतिमा सम्पन्न ग्रान्ड फिनालेमा उनी १५ प्रतियोगीलाई पछि पार्दै ताज चुम्न सफल भएकी हुन्।

दुई सबटाइटलसमेत जितेकी विजेता बस्नेत उपाधिबापत १० लाख नगद प्राप्त गर्दै हीराजडित ताज पहिरिन सफल भइन्। गत वर्षकी मिस युनिभर्स नेपाल विजेता अंशिका शर्माले उनलाई ताज पहिराएकी थिइन्। उत्कृष्ट १६ बाट १० र ५ हुँदै अन्त्यमा विजेता घोषणा गरिएको प्रतियोगितामा निनाकान्ता मण्डल फस्ट रनर्सअप, रक्षा उप्रेती सेकेन्ड रनर्सअप, प्रतीक्षा महरा क्षेत्री थर्ड रनर्सअप र डा. केशु खड्का फोर्थ रनर्सअप घोषित भए।

विजेता बस्नेतले यो उपाधि चुमेबापत आगामी १२ डिसेम्बरमा इजरायलमा हुने विश्वचर्चित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस युनिभर्समा नेपालको तर्फबाट प्रतिनिधित्व गर्नेछिन्।

विभिन्न उपशीर्षकमा विजेतासमेत छानिएको प्रतियोगीको निर्णायकमा गायिका इन्दिरा जोशी, मानसी अग्रवाल र सरिता ज्ञवालीलगायत रहेका थिए।गतवर्ष मिस युनिर्भसमा नेपालको प्रतिनिधित्व मिस युनिभर्स नेपाल २०२० की विजेता अंशिका शर्माले गरेकी थिइन्।

प्रतियोगिताको फ्रेन्चाइज नेपालमा मिस नेपाल अर्थ २०१२ नग्मा श्रेष्ठले व्यक्तिगत पहलमा भित्र्याएकी हुन्। सन् २०१७ मा उनी पहिलोपटक नेपालको प्रतिनिधित्व गर्दै मिस युनिभर्समा सहभागी भएकी थिइन्। सोही प्रतियोगितामा नेपालको प्रतिनिधि पठाउने उद्देश्यले उनले गत वर्षबाट मिस युनिभर्स नेपाल आयोजना थालेकी हुन्।