कृत्रिम मिलनको दुष्परिणाम



नगेन्द्रराज पौडेल । 

अमुक गाउँमा एकजना पुरुषका दुइवटी श्रीमती थिए । परिवार संयुक्त थियो । कान्छीले जेठीको भन्दा चुलो, चौको, लिपलाप बढी नै गर्नुपथ्र्यो । उनलाई यसैकारण संयुक्त परिवारमा बस्न मन भएन । एकदिन उनकै जिद्दीमा घरका अरू सदस्यले नमान्दा नमान्दै उनी अलग भएर बसिन् । एकदिन उनी बजारतिर किनमेल गर्न निस्किन् । बाटोमा उनलाई छाडा कुकुरले टोकेछ ।

उनी थला परिन् । परिवारबाट अलग भएर बसेकी हुँदा उनलाई घरमा सघाउने कोही भएन । एक्लै उनले गरीखान सकिनन् । यहीकारण पछि उनैले ‘मैले छुट्टिएर गल्ती गरेछु । अब सगोलमा नै बस्छु’ भनिछन् । उनका ससुराले ‘हेर बाबै तँ त एक्लै बस्छु, पेटभरि दूध र भात खान्छु भनेर गएकी थिइस्, सडकको कुकुरले फेरि मिसाइदियो । घर मात्र मिसिएर हुँदैन । मन मिसिनुुपर्छ । मनमा कुनै पाप, द्वेष, कलुुष नराखी व्यवहार गर्नु’ भनेर सम्झाएथे ।३२ महिनाअघि एकीकृत भएको नेकपामा पदको हानाथाप पर्यो । कसैलाई प्रधानमन्त्रीको रहर, कसैलाई पार्टी अध्यक्षको लतले छाडेन । सँगै बसेर यो सम्भव थिएन ।

क्रमशः अलग धार बनाएर विभाजनको अन्तिम संघारमा पुगेको बेला सर्वोच्चको एउटा फैसलाले पार्टी विभाजन गर्न चाहनेको रहर पूरा गरिदिएको पनि निकै भइसक्यो । कृत्रिम मिलन एक्कासी चकनाचुर पर्यो ।पराइसँग साइनो गाँस्नेलाई राजु परियारले गीतमा ‘लालुपाते नुघ्यो भुइँतिर, कि लाउ माया मैतिर कि लाउ उहीतिर, नीर नलाउ दुईतिर’ भनेझै सर्वोच्चले कित्ता रोज्न अवसर पनि दियो । सर्वोच्चको फैसलासँगै माओवादी केन्द्रका रामबहादुर थापालगायतका नेताहरूले एमाले रोजे भने एमालेका किसान श्रेष्ठहरू एमालेबाट विभाजित माधव नेपालले नेतृत्व गरेको नेकपा समाजवादीको धारतिर समाहित भए ।

गायक अरुणा लामाले भन्छिन्– ‘पोहोर साल खुशी फाट्दा जतन गरी मनले टालेँ, त्यही साल माया फाट्यो, त्यसलाई पनि मनले टाले, यसपाली त मनै फाट्यो के ले सिउने, के ले टाल्ने हो ? ’नेकपामा हुँदा नराम्ररी मन फाटेकै हो । एकले अर्कोलाई गाली, आरोप, प्रत्यारोपमात्र होइन व्यक्तिगतस्तरमा ओर्लेर तथानाम गरेका नै हुन् । सायद यसरी यति छिट्टै एउटै घर फर्किनुपर्छ भन्ने थाहा हुँदो हो त त्योस्तरमा झरेर गाली, कारबाही र आरोपको वर्षा गर्दैनथे होला । छुट्टिएकी कान्छीलाई सडकको कुकुरले मिलाएझै एउटै दलका भिन्न प्रवृत्तिलाई अदालतले मिलाइदिएको हो । ३२ महिनाअघिकै अवस्थामा फर्क या दल छाडेर जाऊ भनेर दिएको अदालती आदेश कार्यान्वयनकै परिणाम अहिलेको नेकपा एमाले र माओवादी केन्द्रको पुनर्जन्म हो ।

तर, यसबीचमा कर्णालीमा धेरै बहाव आइसकेको छ । भोलि आउला भनेर हिजो कसैले सोचेनन् । संयोग, अदालतको फैसला बन्यो । कित्ता प्रष्ट नबनाई अब सुखै रहेन । तर, मन फाटिसकेको छ । फाटेको मन सिउनलाई अब लरतरो सियोले हुने देखिँदैन । खापसियो नै सही, फाटेको मन नसिलाउने हो भने पार्टी ध्वस्त हुनसक्छ । यसकारण मन सिलाउनु नेकपाका लागि मात्र होइन माओवादी केन्द्रका लागि पनि अपरिहार्य भइसकेको छ ।

चर्चामा दश भाइ
नेकपा हुँदा पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध ज्यान फालेर लागेका भीम रावल, घनश्याम भुुषालसमेतका १० भाइहरूका कारण शक्तिशाली नेकपाको सरकार मात्र गएन, सिंगो पार्टीसमेत अंभभंग भयो । पार्टीको एकीकरण खारेजीमा परेपछि माओवादीलाई आफ्नो अलग्गै पार्टीमा जाने सुविधा भए पनि विद्रोही एमालेभित्रका माधव नेपालहरूका लागि संकट नै थियो । अन्त्यमा नेकपा एमालेबाट अलग भएर नयाँ पार्टी खाल्ने योजनामा पुगेको माधव नेपालको समूहलाई परित्याग गरी रावल लगायतका १० जना विद्रोहीहरू नेकपा एमालेमा नै बस्ने गरी १० बुँदे सम्झौता गरे । पार्टीका लागि यो सकारात्मक सन्देश थियो । लोकतन्त्रमा दल बलियो भयो भने मात्र जनता बलिया हुन्छन् । टुटेफुुटेकोभन्दा एकीकृत दल नै बलियो हुन्छ । यसका पछाडि वैज्ञानिक कारणसमेत छन् । दलमा फुटले कतिसम्म गर्छ भन्ने कुरा बझ्नलाई नेपाली कांग्रेसबाट शेरबहादुर देउवा प्रजातान्त्रिक कांग्रेसका नाममा फुट्दा र एमालेबाट बामदेव गौतम मालेका नाममा फुट्दाको विगत नै काफी छ ।

तर, यी दशभाइ एमालमा मिले पनि उनीहरूको मन मिलेको देखिँदैन । अघिल्लो साता १० बुँदे कार्यान्वयनको संयोजकबाट एमाले उपाध्यक्ष भीम रावलले राजीनामा दिएसँगै उक्त पाटीभित्र नयाँ तरङ्ग पैदा भएको छ । मन नमिलेको परिणाम कस्तो हुन्छ भन्ने कुराका लागि यो अर्को दृष्टान्त हो ।

विगत नभुल

विगतको चुनावी परिणामले ५ वर्ष नेकपा नामको राजनीतिक दलले निर्वाध रुपमा काम गर्नुपर्ने थियो । चुनाव अघि राजनीतिक दलहरू तथा उम्मेदवारहरू प्रचार प्रसारका लागि अहोरात्र खटे । जनतालाई आगामी ५ वर्षका लागि यो ,यो गर्छौं भनेर आश्वस्त पनि पारे । चुनावकै संघारमा बाम एकातिर र गैरवाम अर्कोतिर पनि भए । मत तान्न एक अर्काबीच भनाभन, चर्काचर्की र कटाक्ष पनि चल्यो । तर मत परिणामले एउटा स्पष्ट जनादेश दियो । बामपन्थीले सरकार चलाऊ, नेपाली कांग्रेसले प्रतिपक्षीको भूमिका निर्वाह गर । यसबीचमा प्रतिपक्षी साच्चै भलाद्मी देखियो ।

सरकार कहिल्यै पनि प्रतिपक्षीसँग डराउनुपरेन । बरू, आफ्नै दलको डर, भय र त्रासमा हिडनुपर्यो । परिणाम ५ वर्षे जनादेश टिकेन । जनताले दिएको जनमतको कदर गर्दै चुनावी बाचा र कबोल पूरा गर्नतिर विजयी दल र तिनका उम्मेदवारहरू लाग्नुपर्ने थियो तर यसमा बहुमतप्राप्त दल नराम्ररी चुके ।सनातनदेखि वल्ला घरे, पल्लघरे, बूढाघरे, तलेघरे, आँटिवल्लाघरे, डाँडाघरे, लामाचौरे, पल्लाफाँटे, वल्लाफाँटे दाइभाइको साइनो जीवितै छ, त्यसलाई जीवन्तता दिनुपर्नेमा सिउनै नसक्ने गरी आफन्तबीच मन फाट्यो । बहुमतवाला दलले चुनावी परिणामले दिएको सन्देश पूरा गर्न, गराउन सकेन ।

सल्बलाउँदै विगत

इतिहाबाट विगत भइसकेका विषयहरू प्रतिकूल राजनीतिक अवस्थाका कारण व्युँतन खोजेका छन् । आजकल संघीयताविरुद्ध स्वरहरू सुुनिन थालेका छन् । इतिहास भइसकेको राजतन्त्रका पक्षमार धर्म निरपेक्षताका विरुद्ध पनि आवाज आइहेका छन् । तर यी अजेन्डाहरू त्यतिबेला नै पराजित भइसकेका हुन्, जतिबेला लोकतन्त्र, धर्म निरपेक्षता, गणतन्त्र र संघीयतालाई मूल अजेन्डा बनाएका राजनीतिक दल र तिनका उम्मेदवारहरूलाई मतदान गरेर जनताले जिताइसके । संघीयता चाहिँदैन भन्ने चित्रबहादुर केसीको दलले पाएको मत र संघीयताका पक्षमा अरू दलले पाएको मत यसको साक्षी छ । पहिलो, दोस्रो वा तेस्रो कुन दलभयो भन्नुभन्दा पनि सबै दलका साझा अजेन्डा थिए– धर्मनिरपेक्षता, गणतन्त्र, लोकतन्त्र र संघीयता ।

भीरमा चरन खोज्दै गएको खसीलाई देखेर लड्ला र खाउँला भन्नेहरूको रहर पूरा भएन । अन्ततः जीत संघीयताकै भयो । गणतन्त्रकै भयो । लोकतन्त्रकै भयो । परिवर्तनका पक्षमा अडिग ३ राजनीतिक मूलधार(एमाले, कांग्रेस माओवादी) लाई जनताले अधिक रुचाए । यी ३ पार्टीको गठ जोडकै कारण नेपालमा गणतन्त्र आएको थियो । लोकतन्त्रले संस्थागत स्वरूप पाएको थियो । जनता सार्वभौम भएका थिए । यी कुरालाई जनमतले पुष्टि गरिसकेकोले अहिले नेकपा नामको राजनीतिक दल वा माओवादी केन्द्र कमजोर भयो भन्दैमा विषयान्तर गर्ने छुट कसैलाई पनि हुनुहुँदैन । राष्ट्रपतिको जीवनशैलीसँग कोही असन्तुुष्ट हुन सक्छ, असन्तुुष्ट हुनुपर्ने अनेक घटनाहरू पनि छन् तर यसको विकल्प राजतन्त्र हुन सक्दैन । जनादेशले पनि यही कुरा अनुमोदन गरिसकेको छ ।

सबै मन फाट्दैनन्

अघिल्लो निर्वाचनमा झापा १ बाट पराजित नेकाका उम्मेदवार विश्वप्रकाश शर्माले आफू पराजित भएपछि बिजयी बाम उम्मेदवार राम कार्कीलाई आफ्नै बगैंचामा फुलेको फूलको माला आफैंले गाँसेर लगाइदिएका थिए । अँगालो मारेर सेल्फी लिएका थिए । ओखलढुंगाका नेकाका उम्मेदवार रामहरि खतिवडाले एमालेका विजयी उम्मेदवार यज्ञ सुनुवारलाई भेटेरै बधाइ दिएका थिए । नेता सुनुवारले प्रतिद्वन्द्वी खतिवडालाई आफूले भिरेको माला निकालेर पहिराइदिएका थिए ।

त्यो बेला यो खबर छापाभरि छाएको थियो । प्रतिष्पर्धीको सम्मानका लागि योभन्दा ठूलो उदाहरण के हुन सक्ला ? नुवाकोटका डा.रामशरण महत(नेका) ले विजयी वाम उम्मेदवार हितबहादुर तामाङ (नेकपा माओवादी केन्द्र) लाई फेसबुकमार्फत बधाई दिएको कुरा उतिबेला निकै चर्चामा थियो ।

गुल्मी १का प्रदीप ज्ञवालीलाई उनकै प्रतिष्पर्धी नेकाका चन्द्र भण्डारीले अँगालो मारेर बधाइ दिँदै, खुशी साटासाट गरेका थिए । काठमाडौं ४ बाट नेकाका गगनथापा विजयी भएपछि उनका निकटस्थ प्रतिद्वन्दी एमाले उम्मेदवार डा.राजन भट्टराईले गगनका घरमै पुगी बधाइ दिएको प्रसंग त्यति बेला निकै चर्चामा थियो । यी नफाटेका मनहरूको कुरा भयो । तर आज एउटै दलभित्र पनि सिलाउनै नमिल्ने गरी किन फाटेको छ मन ? के हामी मन नफाट्ने व्यवहार प्रदर्शन गर्न सक्दैनाै ? एकपटक सोच्ने हो कि ? कृत्रिम एकता, कृत्रिम मिलन कति दिन टिक्ला ?

प्रतिक्रिया दिनुहोस्