ज्येष्ठ नागरिकलाई निमोनियाविरुद्धको खोप


ललितपुर, (नेस) । 

ललितपुर महानगरले महानगरभित्रका ज्येष्ठ नागरिकलाई निमोनियाविरुद्धको खोप लगाउन शुरू गरेको छ । महानगरले निमोनियाविरुद्धको खोप (पीसीभी–१३) कात्तिक १४ गते आइतबारबाट ७४ वर्ष र ७४ वर्षमाथिका ज्येष्ठ नागरिकलाई दिन शुरू गरेको हो ।

कात्तिक १७ गतेसम्म सञ्चालन हुने उक्त खोप कार्यक्रम पहिलो चरणअन्तर्गतको खोप कार्यक्रम हो । नगरप्रमुख चिरीबाबु महर्जनले ज्येष्ठ नागरिकको स्वास्थ्य निमोनियाका कारण जोखिममा पर्ने भएकाले उहाँहरूका लागि खोपको व्यवस्था गरेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘महानगर आफ्ना नागरिकको स्वास्थ्य र सुरक्षाप्रति संवेदनशील छौं, यो खोपले केही हदसम्म जोखिममुक्त बनाउन सहयोग गर्छ ।’ महानगरले ७० वर्षमाथिका नागरिकको तथ्यांक संकलन गरी खोपको व्यवस्था गरेको हो ।

महानगरका अनुसार ७० वर्ष माथिकालाई खोप लगाउँदा आठ हजार पाँच खोप आवश्यक पर्छ । अहिले महानगरसँग पाँच हजार पाँच सय मात्रै खोप छ । दुई करोड ५४ लाखको खोप खरिद गरेको महानगरले जनाएको छ ।पाटन अस्पतालका ज्येष्ठ नागरिक स्वास्थ्य विशेषज्ञ डा. रमेश कँडेलले ज्येष्ठ नागरिकलाई निमोनियाबाट बचाउने यो खोप महत्वपूर्ण हुने बताउनुभयो । डा. कँडेलले ज्येष्ठ नागरिकलाई निमोनिया लाग्नबाट गरिएको यो महत्वपूर्ण लगानी भएको बताउनुभयो ।

कात्तिक १४ गते वडा नं १ देखि ५ तथा वडा नं २८ र २९ मा, कात्तिक १५ गते वडा नं ६ देखि १३ सम्म, कात्तिक १६ गते १४ देखि २० सम्म, कात्तिक १७ गते २१ देखि २७ सम्म खोप कार्यक्रम सम्बन्धित वडाको खोप केन्द्रमा सञ्चालन गरिने महानगरले जनाएको छ ।