काबुल, अफगानिस्तान ।
दोहामा चीनसँग उच्चस्तरीय वार्ता भएको एक दिनपछि मङ्गलबार बेइजिङ ले अफगानिस्तानलाई ६० लाख अमेरिकी डलर बराबरको थप मानवीय सहायता दिने वचन दिएको अफगानिस्तानको तालिवान सरकारले जनाएको छ ।
तालिबानका प्रवक्ता जाबिहुल्लाह मुजाहिदले चीनको सहायता औषधी र खाद्यान्नको लागि प्रयोग गरिने बताउनुभएको टोलो समाचार संस्थाले उल्लेख गरेको छ ।
तालिवानका उपप्रधानमन्त्री मुल्लाह बारादर र चिनियाँ विदेशमन्त्री वाङ यीबीच दोहामा भएको दोस्रो सार्वजनिक भेटवार्तापछि यस्तो घोषणा गरिएको हो । दुवै पक्षले अफगानिस्तानको राजनैतिक र आर्थिक स्थितिबारे छलफल गरेको कुरा मुजाहिदले पत्रकार सम्मेलनमा बताउनुभएको खामा प्रेस न्यूज एजेन्सीले लेखेको छ ।
वाङ यीसँग सोमबार भएको भेटमा मुल्ला बारादरले अफगान तालिबानले चीनको सुरक्षा चिन्तालाई ठूलो महत्व दिएको बताउनुभएको थियो । वाङले तालिबानले खुलापन र सहिष्णुताको थप प्रदर्शन गर्ने, देशका सबै जातीय समूहहरूलाई एकजुट भएर शान्तिपूर्ण पुनर्निर्माणका लागि सँगै काम गर्ने विश्वास व्यक्त गर्नुभएको चिनियाँ सञ्चारसंस्था ग्लोबल टाइम्सले आफ्नो समाचारमा लेखेको छ ।
प्रतिक्रिया