बागलुङका २ सडक बालबालिकाको उद्धार


बागलुङ ।

मानवसेवा आश्रमले आइतबार २ जना सडक बालबालिकाको उद्धार गरेको छ । लामो समयदेखि बागलुङ जिल्लाको बजार क्षेत्रमा बसोबास गर्दै आइरहेका अन्दाजी ३ र ४ बर्षका बालबालिकाको उद्धार गरिएको मानवसेवा आश्रमको गण्डकी प्रदेश संयोजक सुमिरा लामाले बताइन् ।

जक्सन र प्रिया नाम गरेका यि दुई बालबालिकाहरु लाई यस अघि पनि मानवसेवा आश्रमले पटक पटक उद्धार गरेको थियो । तर उनीहरुलाई बाहिरी बातावरणमा रमाउने बानी लागेको हुनाले उनीहरु ल्याएको केही दिनमा नै पुनः सडकमा देखिने गरेका थिए ।

“उनीहरुलाई सुरुवातमा २०७६ सालमा उद्धार गरि आश्रममा ल्याइएको थियो । तर आश्रमको आफ्नै संरचना निर्माण गर्न नसकिएको र पहिले नै अन्य प्रयोजनको लागि बनेको घरमा बालमैत्री वातावरण नहुनुले गर्दा उनीहरु यहाँबाट पटक पटक भाग्ने गरेका थिए ।” लामाले भनिन् ।त्यसको व्यवस्थापनका लागि मानवसेवा आश्रमले बागलुङको नियरेघाटमा बालमैत्री एवं अपाङ्गतामैत्री भवन निर्माण समेत गरिरहेको छ ।

उनीहरुलाई उद्धार गरि हाल मानवसेवा आश्रमको पोखरा शाखामा लगिएको छ । त्यहाँ आश्रमको संरचना बालबालिकाको लागि समेत उपयुक्त भएको र उनीहरुको भविष्य सुनिश्चितताको लागि पोखरामा शिक्षादीक्षाको व्यवस्था समेत गरिने लामाले जानकारी गराइन् । बागलुङ उनीहरुको लागि पुरानो ठाउँ भएकाले भाग्ने र पुनः सडकमा जाने गरेका थिए ।

उनीहरुलाई बागलुङ नगरपालिका, प्रहरी, प्रशासन र विभिन्न संघसंस्था तथा व्यक्तिहरुको प्रत्यक्ष सहभागीतामा उद्धार गरिएको हो । २०६९ सालमा सडकपेटी र सार्वजनिक स्थलमा रहेका सहयोगापेक्षी सडकमानवहरुको व्यवस्थापन गर्ने उद्धेश्यले सुरुवात भएको मानवसेवा आश्रमको संरक्षणमा हाल १५० बढी बालबालिकाहरु रहेका छन् ।