काभ्रेमा मुटु दिवस : डब्लुएचओदेखि स्थानीय जनप्रतिनिधिसम्म पदयात्रामा

1.7k
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।

विश्व मुटु दिवसको अवसर पारी जिल्लाको सदरमुकाम धुलिखेलमा धुलिखेल नगरपालिकाको आयोजनामा विश्व स्वास्थ्य संगठन र स्वास्थ्य मन्त्रालयको सहभागितामा पदयात्रा गरिएको छ । स्वस्थ मुटुका लागि सचेत रहनु पर्ने सन्देश सहित जनप्रतिनिधि, स्वास्थ्यकर्मी सहितको पदयात्रा आयोजना गरिएको हो ।

धुलिखेल नगरपालिकाबाट शुरु भएको पदयात्रा धुलिखेलको सरस्वती बजार हुँदै हजार सिँढी, देविस्थान कालिका मन्दिर सहितको पार्क, बलभद्र कुँवरको शालिक सहितको पार्क हुँदै पुनः धुलिखेल नगरपालिका आएर समापन भएको थियो ।

धुलिखेल नगरपालिका प्रमुख एवं नेपाल नगरपालिका संघका अध्यक्ष अशोक ब्याञ्जु, विश्व स्वास्थ्य संगठनको विभिन्न देशमा कार्यरत स्वास्थ्यकर्मीहरुको टोली, स्वास्थ्य मन्त्रालय, आयुर्वेद महाशाखाको टोली सहित जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

धुलिखेल नगरपालिका उपप्रमुख विमला शर्मा, काठमाडौ विश्वविद्यालय स्कुल अफ साईन्सका डिन तथा बरिष्ठ मुटु रोग विशेषज्ञ डा. राजेन्द्र कोँजु, धुलिखेल स्वास्थ्य शाखा प्रमुख सन्दिप केसी र स्वास्थ्कर्मीहरुको सहभागिता रहेको थियो । नियमित ब्यायाम, खानपान र जीवनशैली बदल्न सकेको अवस्थामा मुटुलाई जोगाउन सकिने सहभागिहरुले बताएका छन् ।

पछिल्लो समय हरेक ब्यक्तिले प्रयोग गर्ने खानपान र रहनसहन मुटु रोगको प्रमुख कारण भएको बताउँदै मुटु रोगबाट बच्न रोग लाग्नै नदिने तर्फ ध्यान दिन नियमित ब्यायाम र खानापानमा ध्यान दिन चिकित्सकहरुले अनुरोध गरेका छन् । सुगर, प्रेसर तथा अन्य रोगबाट पनि मुटु अस्वस्थ हुन्छ ।

धुम्रपान गर्ने, अत्याधिक रक्सि सेवन गर्ने, चिल्लो तथा धुलोका कारण पनि मुटुमा रोग देखा पर्छ । प्रविधि र जनशक्ति तयार भई ब्यक्तिलाई मुटुको समस्या भए उपचार सम्भव भए पनि मुटुमा रोग लाग्नै नदिने तर्फ सबै सचेत रहनु पर्ने सहभागिहरुले बताए ।

मुटु दिवसको अवसरमा बनेपामा नेपाल ह्दयरोग निवारण प्रतिष्ठान जिल्ला कार्य समिति तथा विभिन्न सामाजिक संघ संस्थाहरुले जनचेतनामुलक कार्यक्रम आयोजना गरेका छन् । नेपाल हृदयरोग निबारण प्रतिष्ठान,पाँचखाल उपशाखाको आयोजनामा बिश्व मुटु दिबस मनाईएको छ ।

पाँचखाल स्वास्थ्य केन्द्रका डा.अनुराग कार्कीले मुटु स्वास्थ्य बारेमा प्रस्तुतिकरण गर्नु भएको थियो । कार्यक्रममा सर्बमंगला बहुमुखी क्याम्पसका प्रमुख जयराम अधिकारी र प्रतिस्ठान पाँचखाल उपशाखाका सदस्य सुदिप श्रेष्ठले मन्ण्तब्य राख्नु भएको थियो ।

उपशाखाका सभापति दामोदर अधिकारीको सभापतित्वमा भएको कर्यक्रममा उपशाखाका उपसभापति सरस्वती चिमैेरीया लगायतले मन्तब्य राख्नु भएको थियो ।

नेपाल ह्दयरोग निवारण प्रतिष्ठानले शाखाहरुमा जनचेतनामुलक कार्यक्रम संचालन गरेको जिल्ला अध्यक्ष अशोक श्रेष्ठले जानकारी दिनुभयो । कुशादेवी, नमोबुद्ध लगायतका स्थानमा अन्य संघ संस्थासँगको समन्वयमा कार्यक्रम आयोजना गरिएको थियो ।

नेपाल ह्दयरोग निवारण प्रतिष्ठानले जिल्लामा महिला स्वास्थ्य स्वयं सेविका तथा धामीझाँक्रीहरुको लागि मुटु रोग सम्बन्धि अभिमुखीकरण तालिम, जेष्ठ नागरिक तथा बालबालिका हरुको लागि निशुल्क मुटु परिक्षण तथा औषधी बितरण, महिला गृहीणीहरु, होटल रेस्टुरेन्टमा काम गर्ने सेफ कर्मचारीको लागि मुटु मैत्री खाना पकाउने तालिम, १०+२ का बिधार्थी भाईबहिनीहरुको लागि मुटु रोग निवारण बारेमा निबन्ध प्रतियोगितामा सहभागी हुनेहरुलाई पुरस्कार बितरण, मुटु रोग तथा योग सम्बन्धि प्रबचन तथा मुटु मैत्री योग अभ्यास संचालन गरिएको जिल्ला अध्यक्ष अशोक श्रेष्ठले बताउनु भयो । पनौतीमा पनि विभिन्न संघ संस्थाले पदयात्रा कार्यक्रम आयोजना गरेका छन् ।