भारतीय सहयोगमा निर्मित विद्यालय हस्तान्तरण : आकर्षक भवन, चिटिक्क कक्षा कोठा

4.1k
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।

भारतीय सरकारको सहयोगमा भुकम्प गएको ६ वर्ष पछि निर्माण सम्पन्न भएका काभ्रेपलाञ्चोक जिल्लामा निर्माण हुने १२ वटा विद्यालय मध्ये ६ वटा समुदायलाई हस्तान्तरण गरिएको छ । भुकम्पले क्षति गराएका १२ वटा विद्यालय भारतिय सरकारको अनुदान र ऋण सहयोगमा निर्माण भएका हुन् ।

१२ मध्ये ६ वटाको निर्माण कार्य सकिएको छ भने ४ वटा तिहार पछि हस्तान्तरणको चरणमा छन् । बाँकी दुई विद्यालयको निर्माण कार्य जारी छ । ‘१० वटा विद्यालय निर्माणका लागि भारतिय सरकारले काभ्रेपलाञ्चोक जिल्लालाई ४१ करोड रकम उपलब्ध गराएको थियो’–राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका निर्देशक रामशरण सापकोटाले भन्नुभयो–‘भारतिय सरकारले नेपालमा ७० वटा विद्यालय र त्रिभुवन विश्वविद्यालयको पुस्तकालयल समेत गरी ७१ वटा भवनका लागि ५० मिलियन डलर सहयोग उपलब्ध गराएको थियो ।

त्यसमध्ये काभ्रेपलाञ्चोक जिल्लामा मात्रै १२ वटा विद्यालयका लागि ६० करोड रकम उपलब्ध भएको छ ।’ निर्माण सम्पन्न भएका विद्यालय संघीय सांसद एवं पुर्व मन्त्री गोकुल बास्कोटाले सम्वन्धित विद्यालयका प्रधानाध्यापक, विद्यालय ब्यवस्थापन समिति अध्यक्षहरुलाई हस्तान्तरण गर्नु भएको थियो ।

बनेपामा आयोजित आजाद माध्यमिक विद्यालयमा एक कार्यक्रमका बीच पनौती ९ स्थित शारदा मावी, पाँचखाल १२ स्थित आजाद मावी, चौरीदेउराली २ स्थित खाँडादेवी मावी, पाँचखाल ४ स्थित दुधेश्वर मावी, पाँचखाल ११ स्थित भगवती मावीको निर्माण सम्पन्न भएका भवन हस्तान्तरण गरिएको हो ।

दुई तल्ले पक्कि फर्निचर सहितको ८ वटा कोठाको एउटा एउटा भवन र अपाङ्गमैत्री, छात्रा छात्राको अलग अलग शौचालय निर्माण गरिएको छ । सिद्धेश्वर मावी महाभारत ३ र हरिसिद्धी मावी रोशी सिपाली ६ को विद्यालय पुनर्निर्माण हुँदैछ ।

कार्यक्रममा बोल्दै पुर्व मन्त्री बास्कोटाले नेपाल र भारत बीचको सम्वन्ध मजवुत रहेको बताउँदै भारतसँगको प्राकृतिक, सांस्कृतिक र धार्मिक सम्वन्धलाई सहयोगी र सुमधुर बनाउनु पर्ने बताउनु भयो । नेपालमा संकट पर्दा भारतले गरेको सहयोगले असल छिमेकीको उदाहरण बनेको बताउँदै पुर्व मन्त्री बास्कोटाले मजबुत सम्वन्धको फाईदा दुबै देशका नागरिकलाई हुनु पर्ने बताउनु भयो ।

विद्यालयका भवन चिटिक्क बन्दैमा शिक्षाको गुणस्तर असल हुन नसक्ने बताउँदै बास्कोटाले भवनसँगै गुणस्तरमा ध्यान दिन सुझाव दिनु भयो । संघीय सांसद गंगाबहादुर दोङ्गले पुनर्निर्माणमा भारतले गरेको सहयोग अतुलनिय रहेको बताउनु भयो । पुर्व राज्यमन्त्री कञ्चनचन्द्र बादे श्रेष्ठले इतिहास बोकेको आजाद माध्यमिक विद्यालय निर्माणमा सहयोग गरेकोमा भारतिय सरकारलाई धन्यवाद दिनु भयो ।

भारितय विदेश मन्त्रालयका सह सचिव अनुराग श्रीवास्तवले दुई देश बीचको अटल सम्वन्धका कारण दुखमा साथ दिएको बताउनु भयो । पुनर्निर्माणमा थोरै सहयोग गरी संकटमा छिमेकी सँगै छौ भन्ने सन्देश दिएको श्रीवास्तवले बताउनु भयो ।

राष्ट्रिय पुनर्निमाण प्राधिकरणको कार्यकारी सदस्य धुव्र्रप्रसाद शर्माले पुनर्निर्माणको काम ५ प्रतिशत मात्रै बाँकी रहेकाले हस्तान्तरण प्रकृया शुरु भएको बताउनु भयो ।

बनेपा नगरपालिका प्रमुख लक्ष्मीनरसिं बादेले बनेपा भित्रका अधिकांश विद्यालयको पुनर्निमाण सकिएकाले विद्यालयमा भवनसँग गुणस्तर सुधार्न अनुरोध गर्नु भयो ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मुकुन्द तिमल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका निर्देशक रामशरण सापकोटा, वडा अध्यक्ष बलराम अधिकारी, विद्यालयका प्रधानाध्यापक रामनारायण श्रेष्ठ लगायतले आजाद माध्यमिक विद्यालयको इतिहास, भुकम्प पछिको अवस्था र भवन निर्माणका सन्दर्भमा आप्mना धारणाहरु राखेका थिए ।