आगामी चुनावमा एमालेलाई टर्च बालेर खोज्नुपर्ने दिन आउँछ : अध्यक्ष नेपाल

2.4k
Shares

हेटौंडा, (नेस) ।

नवगठित नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय अध्यक्ष माधवकुमार नेपाल नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीप्रति निकै आक्रोशित हुनुभएको छ । उहाँले आगामी चुनाबमा केपी ओली नेतृत्वको नेकपा एमालेलाई टर्च बालेर खोज्नुपर्ने दिन आउने बताउनुभएको हो ।

निकै तामझामसाथ हेटौंडामा शनिबार भएको मकवानपुर जिल्लास्तरीय भेला तथा सपथग्रहण कार्यक्रममा नेपालले आगामी चुनाबको नतिजाले एमालेलाई टर्च बालेर खोज्नुपर्ने दिन आउने दाबी गर्नुभयो । उहाँले केपी ओलीकै कारण एमाले फुटेको दाबी पनि गर्नुभयो ।

पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले नेकपा एमालेमा हुकुमी शासन रहेको भन्दै एमालेमा पार्टी कमिटी प्रणाली भन्दा हुकुमी शासनमात्र रहेको बताउनुभयो । ‘एमालेमा विचारको छलफल र बहस भन्दा पनि व्यक्तिको हुकुमी शासन छ,’ उहाँले केपी ओलीले जनताको बहुदलीय जनवादको मालामात्र जपेको आरोप लगाउनुभयो ।

कार्यक्रममा नेपालले एमालेका नेताहरुले जस्तै गाली गरे उनीहरु र आफूहरुमा फरक नदेखिने भन्दै भन्नुभयो–हामी फूलको आँखाले संसार हेर्छौं, केपी ओली काँडाको आँखाले संसार हेर्छन् । ‘केपी ओली अहंकारको घोडाबाट खसेपछि गालीगलौजमा लागेका छन् । उनीहरुको काम नै गाली गर्ने, त्यसमा रमाउँछन् । हामी त्यस्तो गर्ने छैनौं ।

सद्बुद्धि आओस्, मति सुध्रियोस् । हामी गलत बाटोमा जान चाहन्नौं । नत्र, उहाँहरु र हामीमा के फरक ?,’ उहाँले भन्नुभयो । ओलीले जेठ ८ गते दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेपछि उहाँलाई बिदा गर्नुपर्छ भन्ने योजनामा आफूहरु लागेको नेपालको भनाइ थियो ।

‘उहाँलाई लाग्यो केपी ओलीलाई चुनौती दिने कोही छैन । तर, हामीले चुनौती दियौं । केपी ओली अहंकारको घोडाबाट खसेपछि गालीगलौगमा लागेका छन् । उनीहरुको काम नै गाली गर्ने, त्यसमा रमाउँछन्,’ उहाँले थप्नुभयो–उहाँ(ओली) ले ठान्नुभयो कि निष्कासन गरेपछि हामी थर्थर काँपौंला, आँखाबाट आँसु झाराैँला, ओलीको चाकडी गरौंला । के हामी त्यही किसिमका मान्छे हौं ? होइनौं, हामी विद्रोही हौं । सही र गलत छुट्याउने योद्धा हौं ।

उहाँले ओलीले पार्टीमा पार्टीविपरीत एकल निर्णय गरेका कारण पार्टी फुटेको आरोप लगाउनुभयो । र, भन्नुभयो–अब समाजवादीले नेपाली कम्युनिष्ट आन्दोलनको नेतृत्व गर्नेछ । उहाँले देशभर संगठन निर्माण भइरहेको बताउँदै समाजवादी अभियानमा जोडिनेको संख्यामा कमी नभएको दाबी गर्नुभयो ।

उहाँले पार्टीले जनताको बहुदलीय जनवाद (जबज) लाई मानेको बताउनुभयो । अध्यक्ष नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टीले जबजको मान्यता र विशेषतालाई आत्मसात् गरेको भन्दै एकीकृत समाजवादीका विरोधीहरुले समाजवादीले जबज नमानेको भन्दै गलत प्रचार गरेको भन्दै भ्रममा नपर्न आग्रह गर्नुभयो ।

उहाँले एकीकृत समाजवादीले सबै विचार बोकेको भन्दै माक्र्सवाद–लेनिनवाद मार्गदर्शक सिद्धान्तलाई आत्मसात् गरिएको स्पष्ट पार्नुुभयो । उहाँले देशभर एकीकृत समाजवादीको लहरसँगै समाजवादीका संगठन निर्माणका कामहरु भइरहेको बताउनुभयो ।

बागमती प्रदेशमा एमालेको अल्पमतको सरकार चलिरहेको समयमा उहाँले प्रदेशमा केपी ओलीको पार्टीलाई धुलो चटाउने चेतावनी दिनुभयो । प्रदेशमा केही दिनमा सरकार ढालिनेतर्फ उहाँको भनाइ लक्षित थियो । ओलीप्रति लक्षित गर्दै नेपालले भन्नुभयो–प्रधानमन्त्री जोखिममा छ भन्ने लागेपछि प्रतिनिधिसभा विघटन गर्नुभयो ।

राजनीतिक उथलपुथल स्मरण गर्दै नेपालले भन्नुभयो–ओली मेरो प्रधानमन्त्रीको कुर्सी ताक्दै हुनुहुन्छ हैन भन्नुहुन्थ्यो । उहाँले कुर्सी ताक्नुभयो भने कुर्सी नै भाँचिदिन्छु भन्नुभएको थियो । नेकपा (एकीकृत समाजवादी) स्थायी कमिटी सदस्य विरोध खतिवडाले आफ्ना कार्यकर्तालाई आउँदो चुनाबमा कति भोट जम्मा गर्न सक्नुहुन्छ भन्दै प्रश्न गर्नुभयो ।

एकीकृत समाजवादी मकवानपुरस्तरीय भेलामा स्थायी कमिटी सदस्य खतिवडाले पार्टी कार्यकर्ताका नाम लि“दै आउ“दो चुनाबमा कति भोट ल्याउने जिम्मा लिनुहुन्छ भन्दै प्रश्न गर्नुभएको थियो ।

उहाँले आगामी दिनहरुमा एकीकृत समाजवादी पार्टी देशकै पहिलो कम्युनिष्ट पार्टी हुने दाबी गर्नुभयो । ३ महिना पार्टी कमिटी निर्माण अभियान सञ्चालन हुने उहाँले जानकारी दिनुभयो । कार्यक्रममा पार्टी केन्द्रीय सदस्य मुनु सिग्देल र जिल्ला अध्यक्ष श्रीधर पोखरेललगायतको आतिथ्यता थियो ।