यसरी तोडियो लागुऔषध कारोबारीको पाँच तहको जाँलो


पुष्कर बुढाथोकी, भक्तपुर ।

महानगरीय प्रहरी परिसर भक्तपुरले ६ जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भक्तपुर नगरपालिका वडा नं ५ क्वाछेँ बस्ने बर्ष १९ को राजेश शाही, भक्तपुर नगरपालिका वडा नं ५ क्वाछेँ बस्ने बर्ष २० की सरिता शाही, धादिङ बेनिघाट गाउपालिका वडा नं ३ घर भई हाल काठमाडौं बुढानिलकण्ठ बस्ने बर्ष ३९ को केशब क्षेत्री, सर्लाही धनकौल गाउपालिका वडा नं ४ महिनाथपुर बस्ने बर्ष २८ को विशाल यादव भन्ने रामविश्वास राय यादव, सर्लाही धनकौल बस्ने बर्ष २६ को अली महम्मद भन्ने मोहमद शेष ईन्ताज र ललितपुर उपमहानगरपालिका वडा नं १२ स्थायी घर भई हाल ललितपुर हरिसिद्धि बस्ने बर्ष २९ को रविन देउला रहेका छन् ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार गत साउन १७ गते भक्तपुर नगरपालिका वडा नं ५ क्वाछेँमा राजेश शाहीले चलाई ल्याएको बागमती प्रदेश ०२–०१६ प ०१२६ नम्बरको मोटरसाइकलमा सवार व्यक्तिहरुहरुले शंकास्पद गतिविधी गरेको हुँदा रोकी चेकजाँच गर्दा मोटरसाइकल पछाडि सवार सरिता शाहीले बोकेको प्लाष्टिकको झोलाभित्र निलो रङको ३ वटा प्लाष्टिकको पोकामा २८५ एम्पुल लागू औषध फेला परेको थियो ।

थप अनुसन्धान गर्दै जाँदा केशब क्षेत्रीले राजेश शाहीलाई बेचेको भन्ने खुल्न बुझिन आएको परिसरका सूचना अधिकृत डिएसपी दीपक गिरीले बताउनुभयो । केशव क्षेत्री बस्ने वडा एरिया समेतमा खोजतलास गर्दै जाँदा साउन १७ गते सूर्यविनायकमा केशब क्षेत्रीलाई फेला पारी निजले बोकेको झोला खानतलासी गर्दा २४३ एम्पुल लागू औषध समेत बरामद भएको थियो ।

कनेक्सन खोज्दै जाँदा भारतबाट लागू औषध ल्याई उपत्यकामा बेचबिखन गर्ने व्यक्तिहरुमाथि अनुसन्धान गर्दै जाँदा साउन २० गते राम विश्वास रायलाई पक्राउ गरिएकोमा निजले उपत्यकामा केशब क्षेत्री समेतलाई लागू औषध विक्रीवितरण गर्ने गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

निज राम विश्वास रायलगायत उपत्यकामा लागू औषध ल्याई खरिदविक्री गर्ने अन्य मानिसहरुका समेत खोजतलास गर्दै जाँदा सर्लाही घर भएका अलि महमम्द भन्ने मोहमद शेष इन्ताज समतको संलग्न रहेको भन्ने खुल्न आएकोले भाद्र २२ गते काठमाडौं कोटेश्वरस्थित विश्राम गेष्ट हाउसबाट अलि महम्मद भन्ने मोहमद शेष इन्ताजलाई लागू औषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
शेख इन्ताजले राम विश्वास राय यादव र रविन देउलासमेतलाई विक्री वितरण गर्ने गरेको खुल्न आएको छ ।

खोजतलास गर्ने क्रममा लागू औषध खरिद विक्री गर्ने कार्यमा रविन देउलासमेत संलग्न रहेको एकिन भएको हुँदा भदौ २९ गते ललितपुर हरिसिद्धिमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरी लागू औषध मुद्दामा पाँच तहसम्मको लागू औषध खरिद तथा बेचबिखन गर्ने कसुरदारहरु स–प्रमाण नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको जनाएको छ । छोटो समयमा धेरै आर्थिक लाभ लिने उदेश्यले उनीहरु हिडेको खुल्न आएको प्रहरीले जनाएको छ । उनीहरुका साथबाट विभिन्न सामानहरु पनि बरामद गरिएको जनाएको छ ।यसबारे थप अनुसन्धान भैरहेको सूचना अधिकृत डिएसपी दीपक गिरीले बताउनुभयो ।