विप्लव नेकपाको महाधिवेशन फागुनमा


मिला दरै, तनहुँ ।

नेत्रविक्रम चन्द विप्लवको नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको महाधिवेशन फागुनमा हुने भएको छ । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा ‘वैज्ञानिक समाजवाद प्राप्तिका लागि सङ्घर्ष गरौं, एकीकृत जनक्रान्तिमा निरन्तर अघि बढौं’ भन्ने नाराका साथ गरिएको केन्द्रीय समितिको बैठकले जनयुद्ध दिवसको अवसर पारेर महाधिवेशन गर्ने निर्णय भएको जिल्ला सहइन्चार्ज निरु थापाले जानकारी दिनुभयो ।

यसअघि कार्तिकसम्म जनवर्गीय संगठनको राष्ट्रिय सम्मेलन गर्ने समेत बैठकले निर्णय गरेको छ । ‘फागुनमा जनयुद्ध शुरू गरेको भएकोले सोही महिनामा महाधिवेशन गर्ने निर्णय भएको छ तर मिति भने तोकिएको छैन’ –उहाँले भन्नुभयो ।

मङ्सिर ८ गते पार्टी स्थापना दिवसको अवसरमा पार्टी पुनर्गठन गर्ने निर्णयसमेत भएको उहाँले बताउनुभयो । भ्रष्टाचारका विरुद्ध भन्डाफोरको लागि सडकमा प्रर्दशन गर्ने, स्वास्थ्य सामग्री खरीदका समयमा बाहिर आएका अनिमितता घटनाप्रति पनि पार्टीको गम्भीर ध्यानाकार्षण भएको उहाँले बताउनुभयो ।

प्रतिबन्ध फुकुवापछि खुला राजनीतिमा आएर पहिलोपटक केन्द्रीय समितिको बैठक तथा पाँच दिने प्रशिक्षणका क्रममा सो निर्णय भएको पार्टीले जनाएको छ । असोज १ गतेदेखि शुरू भएको बन्द प्रशिक्षण मङ्गबार राती सकिएको थियो । बन्दीपुर माउन्टेन रिसोर्टमा भएकोे बन्द प्रशिक्षणमा भाग लिन अरू नेतासहित महासचिव विप्लव आउनुभएको थियो ।

खुला राजनीतिमा आएको पार्टीले भावी कार्यदिशाबारे जानकारी दिन केन्द्रका अतिरिक्त जिल्लास्तरका नेता कार्यकर्तालाई प्रशिक्षण दिएको थियो । पार्टीको ११औं पूर्ण बैठक भएको र खुला राजनीतिमा आएपछि पहिलो भएकोले धेरै एजेन्डाबारे छलफल गर्नुपर्ने भएको उहाँले बताउनुभयो ।

प्रशिक्षणमा केन्द्रीय समितिका ७६ सदस्य सहभागी थिए । बैठकले एमसीसी सम्झौता ‘राष्ट्रघाती’ भन्दै त्यसलाई पास हुन नदिन राष्ट्रवादी शक्तिसँग मोर्चाबन्दी गर्ने निर्णय गरेको थापाले बताउनुभयो । मोर्चाबन्दीसँगै कार्यगत एकता समेत गर्ने निर्णय गरिएको उहाँको भनाइ छ । विप्लपलगायतको नेताको सुरक्षाका लागि पार्टीका पूर्वजनमुक्ति सेनाका सदस्य र युवा गरी १ सय ५० जना खटिएका थिए ।