‘राजनीतिक क्रान्ति पूरा, विकास र समृद्धिको यात्रा शुरू’


स्याङ्जा, (नेस) ।

नेकपा एमालेका स्थायी कमिटि सदस्य तथा पूर्वउपप्रधान एवं ऊर्जामन्त्री टोपबहादुर रायमाझीले देशमा राजनीतिक क्रान्ति पूरा भई विकास र समृद्धिको यात्रातर्फ अग्रसर रहेको बताउनुभएको छ । वालिङ नगर कमिटिद्धारा आयोजित बृहत अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्नुहुँदै उहाँले वर्तमान राजनीतिक घटनाक्रमलाई सबै नेता कार्यकर्ताले बुझ्न आवश्यक रहेको बताउनुभएको थियो ।

‘समृद्धिको यात्रामा अगाडि बढाउने, गरिबी हटाउने, रोजगारी सिर्जना कसले गर्छ, कुन दलले गर्छ भन्ने बहस हुन आवश्यक छ ।’ –नेता रायमाझीको कथन छ । समृद्धिको बहस, आन्तरिक लडाइँबाट पार्टीले संर्घष नगरीकन अगाडिको यात्रा तय गर्न नसक्ने भन्दै पार्टीबाट केहि अंश चोइटिएर गएपछि पार्टी झनै बलियो र एकढिक्का भएको नेता रायमाझीको दाबी छ ।

राजनीतिमा उतारचढाव, विभाजन, धु्रवीकरण, फुट स्वाभाविक प्रक्रिया भएको रायमाझीको भनाइ छ । ‘यसमा धेरै आत्तिन र मात्तिन आवश्यक छैन् ।’ –नेता रायमाझीले भन्नुभयो । ७० वर्षसम्म जनयुद्ध, मधेस आन्दोलनलगायत सबै प्रकारका आन्दोलन गरी संघीय गणतन्त्र प्राप्त भएको भन्दै अब विकास र समृद्धिको बहस हुन अनिवार्य रहेको उहाँ बताउनुहुन्छ ।

विदेशीको ईशारामा कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउने प्रयास गरिएको र त्यसको पहिलो मतियार नेता प्रचण्ड बनेको भन्दै नेता रायमाझीले भन्नुभयो– ‘कम्युनिस्ट एकतालाई विभाजन गरियो त्यसले पनि नपुगेर परमादेशबाट सरकार ल्याइयो ।’ पार्टी फुटाउने विधयेक एमाले फुटाउनकै लागि ल्याइएको भन्दै त्यसको शिकार सरकार स्वयं बन्न सक्ने चेतावनी उहाँले दिनुभयो । परमादेशबाट सरकार बनेको लामो समय वितिसक्दा पनि सरकारले पूर्णता नपाउनु पार्टी फुटाउने विधयेक पनि एक कारण रहेको रायमाझीको भनाइ छ ।

त्यस्तै, कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा पूर्वमन्त्री पद्मा अर्यालले ओली सरकारले ल्याएको विकासलाई वर्तमान सरकारले कटौती गरेको बताउनुभयो । मन्त्री अर्यालले भन्नुभयो– ‘स्याङ्जाका ३० सडकसहित देशभरका १४ सय सडक कटौती भएको छ । यसमा हामीले निरन्तर खबरदारी गरेका छौं ।’ सरकार विकासमा बाधक बनेको भन्दै निर्वतमान सरकारले ल्याएको अधिकांश विकास निर्माणका योजनाहरु सरकारले खारेज गरिदिएको उहाँको आरोप छ ।

कार्यक्रममा प्रदेश सांसद मोहन रेग्मी, एमाले जिल्ला अध्यक्ष पारस गैह्रे, प्रदेश सदस्य किशोरविक्रम मल्ल, स्याङ्जा काठमाडौ सम्पर्क मञ्चका अध्यक्ष ऋषिराम कँडेललगायतले बोल्नुभएको थियो ।