युद्धका कारण म्यान्मारका हजारौंले शहर छाडे



नोमपेन्ह, (एजेन्सी) ।

सरकारी फौज र सैनिक विद्रोहको विरोध गर्ने छापामार समूहबीच युद्ध चर्केपछि म्यान्मारको एउटा शहरका झण्डै ८ हजार बासिन्दा सुरक्षित गन्तव्यको खोजीमा अन्यत्र भागेको बिहीबार स्थानीय सञ्चार माध्यमले जनाएको छ । गत सप्ताहान्तदेखि जारी रहेको युद्धका कारण चिन राज्यको थान्तलाङ शहरका थुप्रै घरमा आगलागी भएको छ । त्यहाँका हजारौं बासिन्दा नजिकको सीमा पार गरेर भारततर्फ भागेको अनुमान गरिएको छ ।

म्यान्मारको सेनाले गत फेब्रुअरीमा जननिर्वाचित प्रजातान्त्रिक सरकारलाई अपदस्थ गरी सत्ता कब्जा गरेको थियो । तर, उक्त सैनिक विद्रोहको मुलुकभित्रै र अन्तर्राष्ट्रिय जगतले विरोध गरेको थियो । परिणामस्वरूप अन्ततः सेनाविरुद्ध विपक्षी छापामार समूहको जन्म भएको थियो ।

अन्तर्राष्ट्रिय समाचार निकाय रोयटर्सका अनुसार थान्तलाङमा करिब बीसवटा घर जलेका छन् । एउटा जलिरहेको घरको आगो निभाउन खोज्ने एकजना क्रिश्चियन पास्टरको सरकारी सेनाको गोली लागेर मृत्यु भएको बताइएको छ ।

थान्तलाङ आवास मामिला समितिका प्रवक्ता सालाइ लियानका अनुसार सेनाले त्यहाँका घरघरमा गोली हान्न थालेपछि स्थानीय बासिन्दा भाग्न बाध्य भएका हुन् । अमेरिका र युरोपेली संघले म्यान्मारको सैनिक विरोधको निकै आलोचना गरेको थियो । तर, चीनले भने यस राजनीतिक घटनालाई म्यान्मारको आफ्नो आन्तरिक मामिला भएको बताएको थियो ।

प्रतिक्रिया दिनुहोस्