शालिक हेर्दै सपना देख्दै राष्ट्रकविका मूर्तिकार


ईश्वरराज ढकाल, काठमाडौं ।

राष्ट्रकवि स्वर्गीय माधवप्रसाद घिमिरेको निधन भएको हिजो एक वर्ष पुगेको छ । प्रज्ञा प्रतिष्ठानमा स्वर्गीय घिमिरेको १०३औ जन्मजयन्ती मनाइरहँदा उहाँको शालिक अनावरण गर्ने ठूलो इच्छा थियो मूर्तिकार विष्णुप्रसाद बरालको । त्यो पूरा हुन सकेन ।

राष्ट्रकवि जीवित रहेकै समयमा ६ फिट ८ इन्च उचाइको शालिक बनाउन शुरु गरेका मूर्तिकार बराल अहिले शालिक कसले जिम्मा लिइदेला भनेर बाटो हेरिरहनुभएको छ ।

अघिल्ला प्रधानमन्त्री केपी ओलीले राष्ट्रकवि माधव घिमिरेको प्रतीमा राष्ट्रकवि स्वयंका साथ संयुक्तरूपमा अनावरण गर्ने भनी कलाकार बराललाई प्रतीमा तयार गर्न आग्रह गर्नुभएको थियो । बरालले आफ्नै खर्चमा बनाउन थालेको प्रतीमा अहिले तयार गर्दा शालिक बनिसकेको छ । ‘करिब ९ लाख रुपियाँमा शालिक तयार भयो तर जिम्मा लिने कोही छैन’, –बरालले गुनासो गर्दै भन्नुभयो– ‘प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्राडा जगमान गुरुङसंँग प्रज्ञा प्रतिष्ठानमै शालिक राख्न आग्रह गरिरहेको छु, उहाँले हुन्छ भन्नुभएको छ, तर निक्र्याैल भइसकेको छैन ।’

मूर्तिकार बरालले राष्ट्रकवि घिमिरेको जन्ममिति, हिजो असोज ७ गते शालिक अनावरण गर्ने सोच राख्नुभएको थियो । जिम्मा लिने निकाय नभएको कारण त्यो सम्भव भएन । ओली सरकारले राष्ट्रकवि घिमिरेको जन्मस्थल लमजुङको पुस्तुनमा अनावरण गर्ने गरी पूर्णकदको प्रतीमा बनाउन लगाएको थियो । त्यो पूरा हुन सकेन नै, अहिले तयार भइसकेको शालिक पनि अलपत्र छ ।

राष्ट्रकवि सय वर्ष पूरा भएको अवसरमा तीन वर्षअघि सरकारले आयोजना गरेको शतवार्षिकी रथारोहण समारोहमा तत्कालीन प्रम ओलीले मूर्तिकार बरालसँग भेट गरी प्रतीमासम्बन्धी निर्देशन दिनुभएको हो ।

‘पटक–पटक आग्रह गर्दा मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानका अध्यक्ष बमबहादुर जितालीले समितिको तर्फबाट १ लाख ५० हजार रुपियाँ उपलब्ध गराउनुभयो । काम शुरु गर्नुस्, तपाईंलाई रकमले आप्ठ्यारो पर्दैन भनेपछि प्रतीमा बनाउन थालें’, बराल भन्नुहुन्छ– ‘कतिसँग भिख मागेजस्तो गर्ने, कवुल गरेका निकायले रकम दिए दिन्छन्, नदिए आफ्नै कोठामा राख्छु ।’

राष्ट्रकविको प्रकाशोन्मुक महाकाब्य ऋतम्बरा दायाँ हातमा र बायाँ हातले आशीर्वाद दिइरहेको शालिक १ सय ५० केजी तौलको छ ।