एकीकृत समाजवादीको केन्द्रीय पदाधिकारी चयन

महासचिवमा डा. भुसाल, झाँक्रीसहित चार सचिव


काठमाडौं, (नेस) ।

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले पार्टीले सात जना उपाध्यक्षसहित १५ पदाधिकारी चयन गरेको छ ।

राजधानीमा बिहीबार सम्पन्न प्रथम केन्द्रीय कमिटी बैठकले १५ सदस्यीय पदाधिकारीको चयन गरेसँगै एकीकृत समाजवादीको पदाधिकारी १८ सदस्यीय बनेको छ । केन्द्रीय कमिटी बैठकले एक वरिष्ठ नेता, एक नेता, सात उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव र चार सचिव पदको पदाधिकारी चयन गरेको हो । अध्यक्षमा माधवकुमार नेपाल, वरिष्ठ नेतामा झलनाथ खनाल, नेतामा मुकुन्द न्यौपाने, उपाध्यहरूमा राजेन्द्र पाण्डे, प्रमेश हमाल, घनेन्द्र बस्नेत, केदार न्यौपाने, केशवलाल श्रेष्ठ, धर्मनाथप्रसाद साह, जयन्ती राई चयन हुनुभएको छ । त्यसै गरी, महासचिवमा डा. बेदुराम भुसाल, उपमहासचिवहरूमा प्रकाश ज्वाला, डा. गंगालाल तुलाधर, डा. विजय पौडेल, सचिवहरूमा नागेन्द्रप्रसाद चौधरी, जगन्नाथ खतिवडा, राजेन्द्रकुमार राई र रामकुमारी झाँक्री चयन हुनुभएको छ ।

पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बैठकले ३५ सदस्यीय स्थायी कमिटी र ७१ सदस्यीय पोलिटब्युरो गठन गरेको जानकारी दिनुभयो । उहाँका अनुसार केन्द्रीय कमिटी (पूर्ण र वैकल्पिक) गरी ३ सय १ सदस्यीय गठन गरिएको छ । बैठकले प्रदेश र जिल्लाका इन्चार्जहरूको जिम्मेवारी पनि तोक्नुका साथै केन्द्रीय कमिटिबाहेकका सबै कमिटिमा दुई उपाध्यक्षको व्यवस्था गरेको छ । बैठकले पार्टीको सम्पूर्ण तहका कमिटीमा महिला तथा युवा सहभागिता एक तिहाइ पु¥याउने नीतिलाई प्रभावकारीरूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ ।

खतिवडाले तीन महिनाभित्र देशका सबै स्थानीय तहका वडामा कमिटि गठन गर्ने निर्णय गरेको बताउनुभयो । बैठकले केन्द्रीय परिषद् गठन गर्ने निर्णय गरेको छ । उक्त केन्द्रीय परिषद्मा प्रत्येक प्रादेशिक निर्वाचन क्षेत्रबाट कम्तीमा एक जना, केन्द्रीय आयोग, विभाग, जनसंगठनको समेत आवश्यक प्रतिनिधित्व हुने गरी जम्मा ७ सय १ सदस्यीय हुने बताइएको छ । बैठकले तीन आयोग, विभागहरू र सल्लाहकार कमिटी पनि गठन गरेको छ । पार्टीमा अनुशासन, निर्वाचन र लेखा गरी तीन आयोग रहने र ती आयोगहरू बढीमा ३५ सदस्यीय हुने खतिवडाले जानकारी दिनुभयो ।

पार्टीमा गठन हुने विभिन्न विषयगत विभागहरू बढीमा २५ सदस्यीय हुने जानकारी दिँदै उहाँले केन्द्रीय सल्लाहकार कमिटी १ सय ५१ सदस्यीय र ज्येष्ठ कम्युनिस्ट मञ्च १ सय ५१ सदस्यीय गठन गरिने निर्णय भएको बताउनुभयो ।